
काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधवकुमार नेपालनिकट युवा संघ नेपालले ७७ जिल्लाका स्थानीय तहसम्मै युवा संघकाे कमिटी गठन गर्ने भएको छ ।
युवा संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा काभ्रेको धुलिखेलमा मंगलबार बसेको बैठकले ७७ जिल्लामा युवा कमिटी गठन गर्ने निर्णय गरेको छ । युवा संघलाई नयाँ ढंगले निर्माण गर्ने विषयमा निर्णय भएको संघका प्रवक्ता सञ्जीव राईले जानकारी दिए ।
युवा संघले समानान्तर कमिटी बनाएको छ । बैठकमा संगठनलाई कसरी लैजाने भन्ने बारेमा, पार्टीभित्रको विवाद र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राईले जानकारी दिए ।
‘पार्टी भित्रको विवाद र यसलाई कसरी हल गरेर अगाडि बढ्ने , युवाहरूलाई कसरी संगठनमा संगठित गर्ने , आमकार्यकर्ताहरूलाई कसरी राजनीतिक संस्कार सिकाउने भन्ने विषयमा छलफल भयो । आम मानिसमा बढेको राजनीतिक वितृष्णालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भयो,’ राईले भने ।
ओलीले पार्टीका वरिष्ठ नेताहरूलाई एकपक्षीय ढंगले गरेको कारबाही र पार्टीभित्र भ्रष्ट र अराजक तत्वको संरक्षणले पार्टी फुटको दिशामा गइरहेको निष्कर्ष बैठकले निकालेको राइले जानकारी दिए ।