वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

ओली पक्षभित्रै एक्ल्याईएका ईश्वर

ओली पक्षभित्रै एक्ल्याईएका ईश्वर

काठमाडौं । नेपाली राजनीतिमा सधै विवादमा रहने विभिन्न पात्र मध्यका एक हुन सत्तापक्षीय नेकपा एमालेका महासचिव ईश्वर पोखरेल । उनी नवौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा महासचिवमा विजयी भएका थिए । मावकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डेलाई ६ भोटले हराएर उनी महासचिव बनेको विषयनै एमाले भित्र विवादको रुपमा रह्यो ।

पोखरेल एमाले माओवादी केन्द्रबीच एकता भएपछि भने महासचिवबाट हटाइए । उनको ठाँउमा अपत्यारिलो ढंगले उदाए विष्णु पौडेल । उपमहासचिव पौडेल महासचिव भए, महासचिव पोखरेल पदच्युत भए ।

दुई पार्टीबीच एकता भएपछि उनलाई महासचिव नबनाउनुको प्रमुख कारण थियो सबै एकताको पक्षमा हुदा पनि उनी एकता विरोधी अभिव्यक्ति दिइ रहन्थे । जसको कारण उपमहासचिव पौडेल महासचिव भए । एकता संभव गर्न लागेका केही नेतामध्य पौडेलपनि एक थिए । तर पोखरेलले एकता पछि पनि विवादीत र एकता विरोधी अभिव्यक्तिमा कहिल्यै लगाम लगाएनन् । यो शिलशिला उनले नेकपाका स्कुल विभाग नपाउदा सम्म जारी राखे ।

एमाले माओवादी केन्द्रको सरकार बनेपछि १४ फागुन २०७४ मा उपप्रधानसहित रक्षा मन्त्री बनेका थिए पोखरेल । पोखरेलले सुरुमा अर्थ मन्त्री मागेका थिए । तर केपी शर्मा ओलीको अगाडि उनको केहि चलने । अर्थमन्त्री नपाएपछि उनले परराष्ट्र मन्त्री मागेको बताइन्छ । तर त्यो पनि पाएनन् । अन्त कमै चर्चामा आउने रक्षामन्त्रीमा चित्त बुझाए ।

उनी मन्त्री भएपछि पनि सधै विवादका कारण चर्चामा आए । कोरोना विरुद्धको सरकारी उच्च स्तिरीय संयन्त्रको प्रमुख उनलाई बनाइएको थियो । भ्रष्टाचार र काम गर्न नसकेको आरोप क्याविनेट भित्रै र बाहिर पनि लाग्न थालेपछि उनलाई त्यहाँबाट पनि प्रधानमन्त्री ओलीले च्युत गरे ।

ओलीले २०७७ असोज २८ गते मन्त्रिमण्डल पुनर्गठन गरे । जसमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको थियो । महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइयो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइयो । पोखरेललाई रक्षामन्त्रालयबाट हटाइयो र विना विभागीय मन्त्री बनाइयो । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखे । प्रधानमन्त्री ओलीले यस्तो कदम उठाउनुको पछाडी मन्त्री पोखरेलको जंगि अड्डासँगको खटपट, मन्त्रीका छोराको ठेक्केपट्टा र विभिन्न सरकारी परियोजनामा नाम मुछिनु पनि थियो ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा यतिबेला पोखरेलको बढुवा कि घटुवा भयो भन्ने विषयमा बहस सुरु भएको थियो । उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेललाई घटुवा गरिएको थियो । उनको घटुवा भएसंगै नैतिकताका आधारमा राजीनामा दिनुपथ्र्यो । तर दिएनन् ।
अन्तिममा उनले सम्हालिरहेको कोरोना संक्रमण विरुद्धको उच्च स्तिरीय संयन्त्रबाट पनि उनलाई हटाएर अवकास प्राप्त नेपाली सेनाका जर्नेल बालानन्द शर्मालाई राखियो । पोखरेल त्यहाँबाट पनि पदच्युत भए ।

यहि शुक्रबार (२१ जेठ)मा प्रधानमन्त्री ओलीले मन्त्रीबाट हटाएका अधिकांस मन्त्रीहरु कुनै न कुनै विवादका कारण चर्चामा आए । तर सबै भन्दा बढी चर्चामा पोखरेल आए । सत्ता र शक्तिको दुरुपयोग गर्नेमा पोखरेल सबै भन्दा अगाडि देखिएको चर्चा बालुवाटार भित्रै चल्न थाल्यो । उनी यो साँढे तीन बर्षमा ओली सरकारलाई सहयोग गर्नु भन्दा पनि बदनाम गर्ने कुरामा चर्चामा आएका थिए । ओली पक्ष भित्रै पोखरेल विरुद्ध छुट्टै गुट सक्रिए थियो । अन्तत: पोखरेल पछि पारिए विष्णु पौडेल अघि आए ।

नेता पोखरेलमाथि आफ्नै पार्टीका राष्ट्रिय सभाका उम्मेदवार रामबहादुर थापालाई हराएको आरोप पनि लाग्यो । माओवादी छोडेर एमालेमा पुगेका थापालाई पोखरेलले आफ्नो प्रतिस्पर्धी देखेर संसदमा ल्याउन नचाहेको समाचार त्यतिबेलै कतिपय मिडियाले लेखेका थिए । उनी नेता थापालाई हराउन भित्र भित्रै लागेको सूचना थापाले प्रधानमन्त्री सम्म पुर्याएर असन्तुष्टी पोखे । जसका कारण ओली पोखरेलसँग थप चिढिए ।

ओलीको उत्तराधिकारी को ?
पछिल्लो समयमा ओली क्याम्पमा नेतृत्वको लडाई छ । पोखरेल सम्झन्छन् आफू एकलौटी रुपमा ओलीको उत्तराधिकारी हुँ । तर उनलाई ओलीले एमाले माओवादीबीच एकता हुदाको सयम देखि नै मन पराउन छोडेको ओली निकट एक केन्द्रीय कमिटी सदस्य समाचार दैनिकसँष् बताउछन् । ओलीपछिको उत्तराधिकारी को हुने भन्नेमा पोखरेलसहित विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङबीच होडबाजी चलेको छ ।

अहीले ओलीसंग सबै भन्दा बढी नजिक पौडेल, शंकर पोखरेल र नेम्वाङ छन् । शंकर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीको समेत रुचाईएको पात्र भएकाले उनी सवैभन्दा शक्तिशाली रहेको एमालेबृत्त बताउछ । इश्वर पोखरेल विवादमा आउन थालेपछि सबै भन्दा बढी आलोचक नेम्वाङ बनेका हुन् ।

ओलीले पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि नेम्वाङलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग प्रधानमन्त्रीको उम्मेदवार बनाउन चाहेका थिए । तर पोखरेल नै बाधक बनेपछि ओलीले नेम्वाङलाई उम्मेदवार बनाएनन् । नेम्वाङ तत्कालका लागि हारेपनि त्यसपछिका हरेक प्रतिस्पर्धामा स्वभाविक उम्मेदवार बन्ने देखेपछि पोखरेलले विरोध गरेको त्यो समयमा एमाले वृतमा चर्चा थियो । अहिले नेम्वाङ ओली निकट भएर पोखरेलाई ओलीबाट टाढा बनाउने खेलमा सक्रिय रहेका छन् ।

पोखरेल पनि आफ्नै कारणले विवादमा आइरहन्छन् । उनी आफूलाई अब दसौ महाधिवेशनको अध्यक्षको दाबेदार सम्झन्छन् । जब कि स्वास्थ्यले साथ दिएमा ओली अझै आफै अध्यक्ष हुने तरखरमा देखिन्छन् । अहिलेबाट नै ओलीले पोखरेललाई साइड लगाएर बाटो क्लिएर गर्न चाहन्छन् । जसको परिणाम स्वरुप पार्टी महासचिवलाई उपप्रधानमन्त्री बाट हटाएर रघुवीर महासेठलाई अप्रत्यासित रुपमा उपप्रधानमन्त्री बनाए ।

सरकारमा हुंदा पोखरेलका विवादका श्रृंखला :
१. नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्स लाई कौडीको मुल्यमा भाडा दिएको:
पोखरेल नेपाल ट्रस्ट सञ्चालक समिति अध्यक्ष भए । गृहमनत्री हुने व्यवस्था भएपनि सरकार गठनको सुरुवाती अवस्थामा प्रधानमन्त्री र गृहमन्त्री थापाको सम्बन्ध राम्रो थिए । त्यसैले उनले अध्यक्ष रक्षामन्त्रीलाई बनाईदिउ । त्यसपछि उनले नेपाल ट्रस्टको जग्गा अनियमिततापूर्वक यति होल्डीङसलाई ६ बर्ष पहिला नै भाडामा दिने निर्णय गरेका थिए । समिति सदस्यमा आफू अनुकूल परिवर्तन गरे । उनी ट्रस्टको अध्यक्ष भएपछि ‘नेपाल ट्रस्ट ऐन–२०६४’ संशोधन गरे ।

संशोधित ऐनमा व्यवस्था गरियो, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पुँजी लगानीसहित विद्यमान संरचना मर्मतसम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअगावै आवश्यकताअनुसार ट्रस्टको सिफारिसमा सरकारले लिजको अवधि थप गर्न सक्नेछ ।’

यो सबै पोखरेलले गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता म्याद सकिनुभन्दा ६ वर्षअघि नै २५ वर्षका लागि सम्झौता थप्नलाई गरेका थिए । गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र अति सस्तो दरमा यती होल्डिङ्स प्रालिलाई लिजमा दिए । यो प्रकरण यती होल्डिङ्स प्रकरणका नाममा चर्चित छ ।

२०७४ फागुन १४ मा उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका पोखरेल २०७७ असोज २८ गते रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त भएका थिए ।

२.फास्ट ट्रयाक काण्ड
रक्षामन्त्री जस्तो व्यक्तिको सेनासंग खटपट भएको समाचार बाहिरीन थाल्यो । यसको मुख्य विषय थियो– फास्ट ट्र्याकमा पोखरेलले नियुक्त गर्न खोजेका परामर्श विज्ञलाई सेनाले नियुक्त गरेन । जब कि पोखरेल यसमा पनि आफू अनुकूल मानिस नियुक्त गर्न चाहन्थे । सेनाले आफ्नो उद्देश्य पूरा गर्न नदिएपछि उनले सेनालाई ‘लकिरका फकिर’ भएको आरोप सार्वजनिक रूपमै लगाएका थिए । पोखरेलको उक्त भनाई प्रति असन्तुष्टि जनाउदै सेनाले यो विषयलाई प्रधानमन्त्री र राष्ट्रपति कहाँ पुर्‍याएको थियो ।

पछि मन्त्रालयले यसबारे विज्ञप्ति नै निकालेर पोखरेलको भनाइ सच्याएको थियो । त्यसपछि उनको र सेनाको सम्बन्ध सुमधुर हुन सकेन ।

त्यस्तै, खोकना बुङ्मतीमा प्रशासनिक काम रोकेकाले सेनापतिसँगको बैठकमा पनि चर्काचर्की भएको थियो । अन्त उनले मन्त्रालयबाट नै हात धुनु परेको थियो ।

३.औषधि र उपकरण खरिद प्रकरणमा हस्तक्षेप
गत बर्ष फागुन दोस्रो साता सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गर्‍यो । यसको संयोजक पोखरेललाई नै बनाइएको थियो ।

कार्यदलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि राम्रो काम गरेर चर्चामा आउनु भन्दा गलत नियत र कामका कारण विवादीत बन्यो ।

कार्यदलको नेतृत्व पाएको केहि सयमा नै पोखरेलकै दबाबमा सीसीएमसीको निर्देशन बमोजिम गत बर्ष चैत १२ गतेदेखि स्वास्थ्य सामग्री खरिदको विवादित प्रक्रिया अघि बढेको थियो । जुन ठेक्का ‘ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल’ (ओबीसीआई) ले पाएको थियो । विवादास्पद र अपारदर्शी प्रक्रियामार्फत रातारात औषधि र स्वास्थ्य उपकरण खरिद गर्न ओम्नीलाई ठेक्का दिए । ओम्नीले महँगोमा खरिद गरेर गुणस्तरहीन स्वास्थ्य सामग्री र उपकरण ल्यायो । जसको विरोध देशभर नै भयो ।

ओम्नीले ल्याएको औषधि र स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारमा पोखरेलको नाम जोडियो । संसदको सार्वजनिक लेखा समतिले ओम्नी काण्डको छानबिन गरिरहेको छ । महामारीमा पनि पोखरेलले नीतिगत भ्रष्टार गर्न खोजेको भन्दै आलोचना भयोे । भने बमोजिम काम हुन नसकेको बरु गुणस्तर र मूल्यमा प्रश्न उठेपछि गत बर्ष चैत १९ मा ओम्नीको ठेक्का रद्द भयो ।

४.औषधि खरिदमा सेना विवादीत
ओम्नीसँगको खरिद सम्झौता स्वास्थ्य मन्त्रालयले रद्द गरेपछि उक्त कामको जिम्मा सेनालाई दिइयो । मन्त्रिपरिषद्को बैठकबाट सेनाले स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय पोखरेलले गराए । सेनालाई जिटु जी मार्फत स्वास्थ्य सामग्री खरिद गर्न दिइएको थियो । तर त्यसमा पनि पोखरेलले आफ्ना मानिस खटाउन खोजे, जसका कारण फेरी औषधि खरिद प्रक्रिया विवादित बन्यो ।

सेनाले स्वास्थ्य सामग्री प्रचलित मूल्य भन्दा तेब्बर मूल्यमा नेपाल ल्यायो । खरिद प्रक्रियामा अनियमितता गर्न खोजेको भन्दै पोखरेलमाथि प्रश्न उठ्यो

यो बर्षको जेठमा पोखरेल सीसीएमसी संयोजकबाट पनि हटाइए । जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिअन्तर्गत रहने गरी सीसीएमसी पुनर्गठन गर्‍यो । जसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्वरथी बालानन्द शर्मा नियुक्ति भएका छन् ।

५.सम्धीलाई नियुक्ति
पोखरेलका सम्धी हुन् उपेन्द्र कोइराला । अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेका हुन् । तर, यो नियुक्ति पोखरेलको दबाबमा दिएको बताइएको छ ।

पोखरेलको दबाबमा नै कोइरालाले धेरै ठाउँमा नियुक्ति पाएका उदाहरण धेरै छन् । कोइरालाको नियुक्तिको पहिलो यात्रा कम्युनिस्ट सरकारबाट भएको देखिन्छ । २०५१ सालमा कोइरालालाई खाद्य संस्थानको महाप्रबन्धकमा नियुक्त गरिएको थियो, यो नै कोइरालाको पहिलो राजनीतिक नियुक्ति हो । त्यसपछि कोइरालाले धेरै संघसंस्थामा राजनीतिक नियुक्ति पाए । जसमा पोखरेलको मुख्य हात रहेको छ ।

६.जहाज काण्ड
सिसिएमसी को नेतृत्वमा पोखरेल भएपछि कोरोना र लकडाउनको समयमा हरके कुरा उनी कहाँ आउने नै भए । सिसिएमसीमा मन्त्रीहरू पनि सहभागी थिए । पछिल्लो समयमा सरकारले कोरोना भाइरसका कारण दुबईमा अलपत्र परेका २ सय ६६ नेपालीलाई उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज पठाएका थियो । तर, जहाज दुबई पुगेर पोखरेलकै कारण रित्तै फर्कियो । यसपछि संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईसँग पनि उनको विवाद भएको थियो । पोखरेलले क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै जहाज रित्तो फर्काउन लगाएका थिए ।

यी विषयहरु नेता पोखरेलका पछिल्ला विवादका श्रृंखला मात्रै हुन् । एमालेको नवौं महाधिवेशन अघि र उनको अघिल्ला मन्त्रीहंदाका विषय खोतल्ने हो भने अझै धेरै छन् । पार्टीमा सिनियरको कुरा गर्ने हो भने पोखरेल प्रधानमन्त्री ओलीभन्दा पनि कुनै बेला सिनियर थिए । तर परिस्थिति र उनकै कमजोरीका कारण अहिले विष्णु पौडेलले पनि उनलाई उछिनेको एमालेका नेताहरु चर्चा गर्छन् ।

जनता र कार्यकर्ता मैत्री शैली नभएका कारण उनी चुनावमा पनि पटक पटक पराजित भएका थिए । पछिल्लो चुनावमा माओवादीसँगको गठवन्धनका कारण मात्रै उनको जित सहिज भएको तर्क माओवादीले यसअघि नै पेश गरिसकेको छ ।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग