
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत पक्षले प्रदेश र जिल्लाका इञ्चार्ज , सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनको पदाधिकारीहरुका रिक्त पदमा पदपूर्ति गर्न आधारपत्र तयार गरेको छ । नेकपा सो पक्षका अध्यक्षद्वय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालद्वारा हस्ताक्षर गरिएको ९ बुँदे आधार पत्रमा जुन पक्षबाट रिक्त रहेको त्यहि पक्षबाट पद पूर्ति गर्ने उल्लेख गरिएको छ । तर, विशिष्ट अवस्थामा भने त्यस्तो नहुने उल्लेख गरिएको छ ।
पार्टीले रिक्त रहेका पदमा परिपूर्ति गर्न ६ जनाको कार्यदल बनाएको थियो । जसमा गिरीराजमणी पोखरेल, बर्षमान पुन अनन्त, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा प्रभाकर, घनश्याम भुसाल र योगेश भट्राई रहेका थिए ।
उक्त कार्यदलले बुझाएको आफ्नो ९ बुँदे सुझाव पार्टीले अनुमोदन गरेको हो । पार्टीले उक्त आधारपत्र कार्यन्वयन गर्ने भएको कार्यदलका एक सदस्यले बताए । पार्टीले अब रिक्त रहेका पदहरु त्यहि आधारपत्रको आधारमा गर्ने ती सदस्यले बताए ।
बहुमत पक्षले कार्यदल बनाएर एकताको बाँकि काम र ओली पक्ष संग अलग भएपछि रिक्त रहेका पदहरुमा ५०÷५० प्रतिशत को आधारमा गर्ने सहमति गरेको छ ।
५ पुसमा केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएको हो । विभाजन भएपछि बहुमत पक्षले रिक्त रहेका पदहरुमा नयाँ व्यक्तिलाई पदस्थापना गर्ने काम बाँकि नै राखेको थियो ।
बहुमत पक्ष ओलीको संसद विघटन गर्ने कदमको विरोधमा आन्दोलनमा छ । आन्दोलन भएपनि पार्टी कमिटी र जनवर्गीय संगठनहरुमा नेतृत्व नहुदा र कमिटीहरु पूर्ण नहुदा आउने समस्यालाई ध्यानमा राखेर कार्यदल बनाएको थियो । कार्यदलले आन्दोलनको बीचमा नै रिक्त रहेका पदहरुमा नयाँ नेतृत्व र अन्य कमिटीलाई पूर्णता दिन मापदण्ड र आधारहरु तयार गरेको छ ।
७ फागुनमा बहुमत पक्षले आफ्ना रिक्त रहेका प्रदेश र जिल्लाका अध्यक्ष इन्चार्ज ,इञ्चार्ज एवम् पार्टी कमिटी तथा जनवर्गीय संगठनका पदाधिकारीको समायोजनको ९ बँुदे आधारपत्र तयार पारेको हो ।
आधार पत्रमा भनिएको छ, ‘साविकको घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । वरियतामा ध्यान दिँदा साविक घटकको सम्बन्धित कमिटी वा संगठन भित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागीता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने ।’
वरियताको आधारमा पद पूर्ति गर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आवश्यकता अनुसार प्रदेश कमिटीले निर्णय गर्ने पनि आधारपत्रमा उल्लेख छ । यस्तोमा सक्रियतालाई ध्यानमा राख्ने बताइएको छ ।
पार्टीको र जनवर्गीय संगठनको पद पूर्ति गर्दा प्रदेश कमिटीको सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने ,जिल्ला कमिटीको पद पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहतका पनि त्यहि आधारमा पदपूर्ति गर्ने सहमति भएको छ ।
हेर्नुहोस नेकपा बहुमत पक्षको आधारपत्र