• २०८३ श्रावण १२ मंगलबार
  • Tuesday, 28 July, 2026

स्थानीयको प्रदर्शनकाबीच नागढुंगा सुरुङमार्ग उद्घाटन 

काठमाडाैं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’ आज सोमबारदेखि सञ्चालनमा आउँदै छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानिज राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकीलगायतले केहीबेर अघि सुरुङमार्गको उद्घाटन गरेका छन् ।

उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायलगायत आकस्मिक सेवाका सवारीसाधनलाई मात्रै खुला गरिने भएकाे छ भने त्यसपछि साउनको अन्तिम साता वा भदौ पहिलो सातादेखि अन्य नियमित सवारीसाधनलाई पनि सुरुङमार्ग खुला हुने छ । रुङमार्गमा एम्बुलेन्सजस्ता आकस्मिक सेवाका सवारीसाधनलाई शुल्क लाग्नेछैन । अन्य सवारीसाधनले भने तोकिएको शुल्क तिर्नुपर्छ ।

सुरुङमार्गमा अक्सिजन प्रवाह गर्न एयर भेन्टिलेसन जडान गरिएको छ । सुरुङमार्गमा व्यक्तिको मोबाइल नेटवर्कले भने काम गर्नेछैन, सोही कारण टेलिफोन जडान गरिएको छ ।

सुरुङमार्गलाई उज्यालो बनाउन डेडिकेटेड फिडरमार्फत दुई मेगावाट विद्युत् निरन्तर आपूर्ति गरिनेछ । कुनै कारणवश विद्युत् अवरुद्ध भएमा आन्तरिक डिजेल प्लान्टबाट १५ देखि ३० सेकेन्डमा विद्युत् आपूर्ति गरिनेछ । 

सुरुङमार्गभित्र अग्नि नियन्त्रणको समेत व्यवस्था गरिएको छ । सुरुङमार्गभित्र गतिको सीमा तोकिएको छैन । तर, गाडी ओभरटेक भने गर्न पाइनेछैन । साथै, विपरीत लेनमा पनि जान नपाइने व्यवस्था गरिएको छ । परियोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग छन् । त्यसमा मुख्य टनेलमा नियमित सवारीसाधन गुड्न पाउनेछन् । त्यसमा कुनै दुर्घटना भएमा रेस्क्यु टनेलमार्फत उद्धार गरिनेछ । सुरुङमार्ग सञ्चालन गर्ने सेवाप्रदायक कम्पनीले नै त्यसको काम गर्नुपर्नेछ । 

पश्चिम धादिङको सिस्नेखोलाबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख ०८१ र २,५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । ट्राफिक बढेको अवस्थामा रेस्क्यु टनेल विस्तार गरेर नियमित रूपमा सञ्चालन गर्ने तयारी छ । यो सुरुङमार्ग हालको सडकभन्दा २.८ किमि छोटो छ । सुरुङमार्गबाट काठमाडौं भित्रिँदा ३३ मिनेट र काठमाडौंबाट बाहिरिँदा २३ मिनेट समय बचत हुनेछ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनको केही समयअघि केही स्थानीयले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्।

नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सुरुङमार्गसँगै निर्माण हुनुपर्ने आकाशेपुल यथाशीघ्र निर्माण गर्न, सडक पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावितलाई रोजगारी सुनिश्चित गर्न, जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्न र फ्लाइओभरको नाम ‘किसिपिँडी फ्लाइ ओभर’ राख्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। ।

प्रदर्शनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले मूल सडकमै प्रदर्शन गर्न खोजेपछि प्रहरीले त्यहाँबाट हटाएको छ। 

स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर