सुनसरीमा सेना परिचालन, सरकारले बनायाे छानविन समिति
विराटनगर । सरकारले सुनसरी घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ऊर्जा मन्त्रालयका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहनेछन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। त्यसक्रममा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
झडपमा केही सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ। घटना थप बढ्न नदिन अहिले सुनसरीका विभिन्न स्थानमा कफ्र्यु आदेश लगाइएको छ। तर मृतक र घाइते पक्षका समूहले ठाउँठाउँमा प्रदर्शन गरिरहेको सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताए।
पूर्वपश्चिम राजमार्ग पनि अहिले बन्द छ। केही ठाउँमा प्रदर्शनकारी र प्रहरीबिच सोमबार पनि झडप भएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको उनले बताए।
बख्तरबन्ध गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएको र त्यसपछि प्रदर्शनकारी तितरबितर बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका थिए। प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरी भित्र रहेका सामान सडकमा निकालेर आगो लगाइएको छ।






प्रतिकृया दिनुहोस