ब्रोड पिक हिमपहिरोमा बेपत्ता पुर्जासहित १० मध्ये ४ जनाको शव भेटियाे
काठमाडाैं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४ पर्वतारोहीको शव फेला परेको छ। हिमपहिरोमा परेका १० जना पर्वतारोही बेपत्ता भएका थिए।
हाइकिङ एजेन्सी सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंले दुई जनाको शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार अहिले मृतकहरूको पहिचान गर्ने प्रक्रिया भइरहेको छ।
बीबीसीले भने ४ जनाकाे शव भेटिएकाे समाचारमा उल्लेख गरेकाे छ । उद्धार टोलीद्वारा चारवटा शव फेला पारिएको अल्पाइन क्लबका अध्यक्षको भनाइ
जमिनमा खटिएका उद्धार टोलीहरूले चारवटा सम्म शवहरू फेला पारेको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले इन्स्टाग्राम पोस्टमार्फत जनाएका छन्।
हिमपहिरोमा परेर बेपत्ता हुनेहरूमा नेपालका निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ (युक्ता), किली शेर्पा (किलु), निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।
यसैगरी ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाका मेलोरी गेइस पनि बेपत्ता सूचीमा छन्।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई वटा हेलिकप्टर र थप विशेष उपकरणहरू घटनास्थलतर्फ परिचालन गरिएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ।
खोज कार्यलाई प्रभावकारी बनाउन केटु र केथ्री हिमालमा रहेका अन्य पर्वतारोहीहरूलाई समेत परिचालन गरिएको नेपाली सांसद तथा व्यवसायी मिङ्मा ग्याबु शेर्पाले जानकारी दिएका छन्।
काराकोरम हिमशृंखलामा अवस्थित ८ हजार ४७ मिटर उचाइको ब्रोड पिक हिमाल विश्वको १२औं अग्लो हिमाल हो। यसअघि सन् २०१९ मा निर्मल पुर्जाले ६ महिनाभन्दा कम समयमै आरोहण गरेका १४ वटा 'डेथ जोन' हिमालहरूमध्ये यो पनि एक हो।






प्रतिकृया दिनुहोस