बहुमत नपुगेपछि बागमतीमा सरकार बनाउन तम्सिएका एमाले–नेकपा अलमलमा
काठमाडौं । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगनाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अन्योल भएको छ । गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डु भक्तपुरमा मुख्यमन्त्रीबारे छलफल भइरहेका बेला थपलिया अचानक बिरामी भएका थिए ।
छलफलका क्रममा ओलीले दलका नेता थपलियालाई मुख्यमन्त्रीका लागि अघि सारेका थिए । साथै दलका उपनेता किरण थापा पनि आकांक्षी रहेको जानकारी दिएका थिए । उनले थपलिया र थापा जसले अरु दललाई विश्वासमा लिन सक्छ उ नै मुख्यमन्त्री हुने संकेत गरेका थिए । ‘जेएन पुरानो नेता हो तर अहिलेसम्म अरु दललाई विश्वासमा लिएर सरकार बनाउन किन नसकेको ?’ ओलीको प्रश्न थियो । त्यसपछि थपलियाले आफ्नो कुरा राखेका थिए ।
बागमती प्रदेशका एमालेका अरु सांसदहरूको पनि उक्त छलफलमा उपस्थिति थियो । ओलीले अरु दललाई विश्वासमा नलिएको भन्दै थपलियामाथी व्याङ्य गरेपछि उनी आक्रोशित बनेका थिए । ‘धारणा राख्दै गर्दा उहाँले अप्ठ्यारो महसुस गर्नुभयो,’ एमाले सांसद एकलाल श्रेष्ठले भने, ‘त्यसपछि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि वीर अस्पतालमा उपचार भइरहेको छ ।’
थपलियालाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णयमा केही सांसदले प्रश्न उठाएपछि उनलाई ‘स्ट्रेस’ भएको श्रेष्ठको भनाइ छ । ‘जेएनलाई मुख्यमन्त्री बनाउने पूर्वनिर्णयमाथि केही साथीहरूले प्रश्न उठाएपछि उहाँले स्ट्रेस महसुस गर्नुभएको थियो । त्यसपछि बिरामी हुनुभयो,’ उनले भने ।
श्रेष्ठका अनुसार थपलियाको स्वास्थ्यमा सुधार भइरहेको र सोमबार डिस्चार्ज भएपछि उनकै नेतृत्वमा सरकार बनाउनेबारे गृहकार्य सुरु हुनेछ । ‘मुख्यमन्त्रीका लागि जेएन (जगनाथ) नै अघि सार्ने पार्टीको निर्णय हो । अस्पतालबाट डिस्चार्ज भएपछि सरकार बनाउन छलफल हुनेछ,’ उनले भने ।
मुख्यमन्त्रीका अर्का दाबेदार थापालाई पनि राप्रपाको समर्थन जुटाउन वार्ता गर्न महेश बस्नेतले अघि बढाएका थिए । थापाले राप्रपा दलका नेता उद्धव थापासँग वार्ता समेत गरेका थिए ।
एमाले बागमती प्रदेश इञ्चार्ज एवं सचिव राजन भट्टराईले दलको नेता थपलिया बिरामी भएपछि पार्टीको नेतृत्वमा सरकार बनाउने प्रक्रिया रोकिएको बताए । ‘उहाँलाई सञ्चो भएपछि राप्रपालगायतसँग छलफल हुन्छ’ उनले भने ।
९ साउनमा एमाले अध्यक्ष ओली र पुष्पकमल दाहालबीच प्रदेशहरूमा सत्ता गठबन्धन गर्ने निर्णय भएको थियो । जसअनुसार एमालेले लुम्बिनी, बाग्मती, कोशी र नेकपाले सुदूरपश्चिम र कर्णालीमा मुख्यमन्त्री लिने सहमति भएको थियो । कर्णालीमा नेकपामा मंगलबहादुर शाही मुख्यमन्त्री नियुत्त भइसकेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाहीले डेढ साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न भने सकेका छैनन् ।
सुदूरपश्चिममा नेकपाले खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । कांग्रेसबाट मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि सरकार गठन प्रक्रिया थाल्ने भट्टले बताए । लुम्बिनी र कोशीमा हालकै मुख्यमन्त्री चेतनारायण आचार्य र हिक्मतकुमार कार्की निरन्तर हुने भएका छन् ।
१०४ सदस्य रहेको प्रदेश सभामा एमाले र नेकपासँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ सिट मात्रै छ । बहुमतका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ । यही कारण अन्य साना दल, विशेषगरी रराप्रपा को भूमिका निर्णायक बनेको छ । यही कारण अन्य साना दल, विशेषगरी राप्रपाको भूमिका निर्णायक बनेको छ ।
एमालेकी अप्सरा चापागाईं उपसभामुख छन् । सभामुख पद रिक्त भएकाले कार्यबहाक सभामुख चापागाईँलाई मतदान गर्ने अधिकार छैन । राप्रपाबाट सभामुख भएका भुवन पाठकले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ ।
एमाले र नेकपाले भरोसा गरेको राप्रपा बाग्मतीलाई सरकारमा नजान केन्द्रीय कार्यसमित बैठकले अंकुश लगाएको छ । बुधबार राप्रपा केन्द्रीय कार्यसमिति बैठकले एमाले र नेकपा सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसपछि एमाले-नेकपा गठबन्धन सरकार बनाउन थप जटिलता देखिएको छ ।
‘बाग्मती सरकारमा नजाने राप्रपाले निर्णय गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बाग्मती सरकार गठनबारे स्पष्ट निर्देशन दिइसक्नु भएको छ,’ प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपा बाग्मती प्रदेश सभा दल नेता उद्धव थापाले पनि आफ्नो दल अस्थिर सरकारको पक्षमा नभएको बताए । कान्तिपुरबाट







प्रतिकृया दिनुहोस