दोलखाकाे यलुङ–री हिमालमा ५ शव भेटिए
काठमाडाैं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा पाँच जनाको शव देखिएको स्थानीयले जानकारी दिएपछि त्यसको अनुगमन तथा उद्धारका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण घटनास्थलसम्म पुग्न सकेको छैन ।
गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमागेली शेर्पाका अनुसार सिमीगाउँबाट हेलिकोप्टर उडानका लागि गत शुक्रबारदेखि प्रयास भइरहेको छ । तर मौसम खराब भएका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न सकेको छैन ।
स्थानीयले पाँच वटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचानका लागि शुक्रबार यलुङ–री हिमाल क्षेत्रमा हेलिकोप्टर पठाएको थियो । तर खराब मौसमका कारण शवको पहिचान तथा सङ्कलन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
स्थानीयले देखेको भनिएका शव गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको हुन सक्ने वडाध्यक्ष शेर्पाले बताए ।
दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले पनि यलुङ–री हिमालको आधार शिविरमा पाँच वटा शव देखिएको जानकारी आए पनि त्यसको आधिकारिक पुष्टि भइनसकेको बताए । ती शव गत वर्ष हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको उनले बताए ।
गत वर्ष यलुङ–री हिमाल आरोहणका क्रममा सात जना हिमपहिरोमा परी बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव त्यतिबेलै भेटिए पनि पाँच जनाको शव भने भेटिएको थिएन । खोजीमा सहभागी ड्रिम डेस्टिनेसनको टोलीका अनुसार लगातार हिमपात भएपछि त्यतिबेला खोजी कार्य स्थगित गरिएको थियो ।
त्यतिबेला स्थानीयवासीले हिउँ पग्लिएपछि पुरिएका व्यक्तिको शव देखिन सक्ने बताएका थिए । अहिले स्थानीयले पाँच वटा शव देखिएको जानकारी दिएपछि पुनः खोजी तथा उद्धारको प्रयास भइरहेको हो ।
गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणका लागि पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ गएका थिए । उनीहरू कात्तिक १७ गते हिमपहिरोमा परेका थिए ।
हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार भएको थियो । हिमपहिरोमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको बुक्साका मेरे कार्कीको शव त्यतिबेलै भेटिएको थियो ।
हिमपहिरोमा परी फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँच जना विदेशी नागरिक बेपत्ता भएका थिए ।







प्रतिकृया दिनुहोस