• २०८३ श्रावण ३० शनिबार
  • Saturday, 15 August, 2026

भेलामा देउवाकाे ठहरः विशेष महाधिवेशनले पार्टी कमजोर बनायो

काठमाडौँ। कांग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजनीतिक परिवर्तन भए पनि समाजमा निराशा र देशमा संकट झन बढेको बताएका छन् । संस्थापन इतर पक्षले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले यो संकट र निराशा सबैभन्दा पुरानो पार्टी कांग्रेसले समाधान गर्नु पर्ने बताएका छन् ।

उनले कांग्रेसले विगतमा गरेका योगदान नबिर्सन समेत आग्रह गरेका छन् । इतिहासबाट पाठ सिकेर मात्रै गन्तव्यमा पुग्न सकिने उनको सुझाव छ । उनले भने, '२००७, २०४६ र २०६३/६४ सालको आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको हो । २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको हो । यसमा गर्व गर्न सक्नु पर्छ ।' उनले यी आन्दोलनमा अन्य पार्टीको समेत साथ र सहयोग रहेको बताए । 

देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाउने काम भएको बताए ।

देउवाले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको टिप्पणी गरे । ‘नेपाली कांग्रेसले के गर्‍यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नुपर्छ,’ उनले भने, ‘२००७, २०३६, २०४६ र २०६२/०६३ का सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएका हुन्। इतिहासबाट पाठ सिकेर मात्र सही मार्ग पहिल्याउन सकिन्छ।’ उनले विगतका उपलब्धिहरूको अवमूल्यन नगर्न समेत आग्रह गरे । 

पार्टीभित्रको आन्तरिक विवादबारे बोल्दै देउवाले विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्‍याएको दाबी गरे । ‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ उनले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’

मुलुक अहिले राजनीतिक, आर्थिक र सामाजिक रूपमा सङ्कटग्रस्त परिस्थितिबाट गुज्रिएको देउवाको ठम्याइ छ। उनले भने, ‘मुलुकको अवस्था अहिले निकै संवेदनशील छ। जनतामा निराशा छाएको छ, यसलाई हामीले आशामा बदल्नुपर्नेछ।’ उनले संविधानप्रदत्त अधिकार प्राप्तिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। 

देउवाले पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गरे। ‘सबै साथीहरूलाई न्याय हुने र सबैको भावनाको कदर हुने गरी एकता खोज्न आवश्यक छ,’ उनले भने, ‘जनताको अधिकार र भूमिकाका लागि म जुनसुकै त्याग गर्न तयार छु।’

स्वदेश फिर्तीको क्रममा आफूलाई विमानस्थलमा भव्य स्वागत गर्ने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति देउवाले आभार समेत प्रकट गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर