‘एब्सेन्स सिजर्स’ के हाे? दोस्रोपटक मैदानमै ढले मुसियाला
एजेन्सी । बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियाला स्नायु प्रणालीसँग सम्बन्धित रोगका कारण चार दिनको अन्तरमा दुई खेलमा मैदानमा अचेत भएका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियालाले स्नायु प्रणालीसँग सम्बन्धित समस्याको उपचार गराइरहेको बीबीसीले समाचार लेखेकाे छ ।
यो चार दिनभित्र खेलकै क्रममा दुईपटक मैदानमा ढलेपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय मिडियालाई स्पष्ट पारेका हुन् । २३ वर्षीय मुसियाला मंगलबार राति हाइडेनहेमविरुद्धको मैत्रीपूर्ण खेल प्रतिस्पर्धा गरेको ६ मिनेटमै ढलेका थिए । सो खेलमा बायर्न म्युनिख ४–२ ले विजयी भयो ।
मैदानभित्र छिरेको ६ मिनेटबिचमै मुसियाला मैदानमा ढले । उनी केहीबेर अलमल्ल र होस हराएजस्तो देखिएका थिए । मैदानमा तत्कालै चिकित्सकहरूले उनलाई उपचार प्रदान गरी सहारा दिएर मैदानबाट बाहिर लगेका थिए । गत शनिबार बायर्न म्युनिखले आरबी लाइपजिगविरुद्ध खेलेको थियो । यो खेलमा बार्यनले आरबिलाई ३–१ ले हराएको थियो ।
यस खेलमा पनि मुसियाला मैदानमा ढलेका थिए । लगातार दुई खेलमा यस्तो घटना भएपछि चिन्तित बनेका समर्थकलाई आश्वस्त पार्न मुसियालाले इन्स्टाग्राममार्फत आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका हुन् । ‘मलाई अस्थायी र छोटो समयका लागि हुने ‘एब्सेन्स सिजर्स’ भएको पत्ता लागेको छ, जुन न्युरोलोजिकल डिसफंक्सनका कारण हुने गर्छ,’ उनले सोसल मिडियामा भनेका छन्, ‘यसबाट डराउनु पर्ने अवस्था छैन ।
यो रोग उपचारबाट सजिलै निको हुन सक्छ ।’ उनले आफ्नो स्वास्थ्य अवस्थाप्रति चिन्ता लिइरहेका समर्थकलाई धन्यवाद दिएका छन् । ‘यस्तो घटनाले सुरुमा जो कोहीलाई पनि डर लाग्छ, तर अहिले मेरो दैनिकीको एउटा पाटोजस्तै बनेको छ,’ उनले भने, बायर्न, समर्थक र मेरो परिवारले मलाई साथ दिइरहनुभएको छ ।’ मुसियालाका लागि पछिल्लो समय निकै चुनौतीपूर्ण रह्यो ।
सन् २०२५ को क्लब विश्वकपका क्रममा उनको गोलीगाँठो भाँचिएको थियो । जसका कारण उनले सिजनको पहिलो ६ महिना गुमाउनुपरेको थियो । पछिल्लो घटनापछि बायर्न म्युनिखका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबरलले क्लबलाई खेलाडीको अवस्थाबारे पहिल्यै जानकारी रहेको बताएका छन् । ‘हामीलाई यो विषयमा पहिलेदेखि नै जानकारी थियो, तर हामी अवस्थाप्रति सचेत छौँ,’ म्याक्सले भने । जर्मनी खेलाडीसमेत रहेका मुसियालाले गत महिना अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेको फिफा विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । जर्मनीका चारमध्ये तीन खेल खेल्दा उनी पहिलो रोजाइमा परेका थिए ।







प्रतिकृया दिनुहोस