• २०८३ भदौ ९ मंगलबार
  • Tuesday, 25 August, 2026

बालिका बलात्कारपछि हत्या: संसदमा उठ्याे प्रश्न

काठमाडौं । बाराको सिमरामा एक बालिकाको बलात्कारपछि हत्या भएको र मुलुकका अन्य भागमा पनि बालिका र महिलामाथि भएका घटनाको विषय संघीय संसकाे प्रतिनिधि सभामा उठेकाे छ । 

यस्ताे संवेदनशील विषयलाई सांसदमा सत्ता पक्ष र विपक्ष दुवै तर्फका सांसदहरुले उठाएका छन् । नेकपाकी सांसद बलावती शर्मा, रास्वपाका श्रद्धा कुँवरलगायतले प्रश्न उठाए। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद कुँवरले समाजको मनोविज्ञान परिवर्तन गर्नका लागि राज्यले काम गर्नुपर्ने धारणा राखिन् । 'आज सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक छ तर महिलामाथिको प्रहार रोकिएको छैन,' कुँवरले भनिन्, 'घर, परिवार, यातायात, सडक, सामाजिक संजालदेखि सदनसम्म हुने पीडादायी घटनाबाट हामी कोही अनभिज्ञ छैनौं ।'

सांसद कुँवरले संसदमा आइपुगेका महिला सांसदहरूलाई आफ्नो यात्रा कति पीडायादी छ भन्ने थाहा भएको पनि बताइन् । महिला भएकै कारण जीवनमा पटक-पटक विभेद भोग्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । 'पासाङ, सीता, पारिजातका कथा र गाथा सुनाउने यो समाजमा एउटी नेपाली महिलाको वास्तविक यात्रा कति पीडादायी छ भन्ने कुरा यस सदनमा रहेका प्रत्येक महिलाले भोग्नुभएको छ, देख्नुभएको छ,' उनले भनिन् ।

आमाको गर्भमा अंग परीक्षण गरेर भ्रुण हत्या गर्ने, दाइजोका लागि पीडित हुनुपर्ने समाजको अन्त्य गर्नुपर्ने सांसद कुँवरको भनाइ छ । 'महिलाका लागि सबैभन्दा ठूलो उसको स्वाभिमान हो । संविधानले मृत्युदण्ड र देश निकाला निषेध गरेको छ । तर प्रश्न यो हो एउटा छोरीलाई छोरी हुनु नै पापजस्तो बनाइन्छ तब हामीले संविधानका अक्षर मात्र हेर्ने कि संविधानाले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने ?,' उनले प्रश्न गरिन् । 

सरकारले बलात्कारमा संलग्न व्यक्तिलाई कडा दण्ड दिने कानुन निर्माण गर्नुपर्ने उनको माग छ । उनले भनिन्, 'छोरीलाई लाज छोप्न र आत्मसुरक्षा सिकाउने यो समाजले छोरालाई पनि मानवता सिकाओस् । समाज बदल्न छोरी मात्रै बलियो बनाएर पुग्दैन समाजको सोच पनि बदल्नुपर्छ ।'
विपक्षी दल नेकपाकी सांसद शर्माले बालिका बलात्कारका विषयमा सरकार प्रभावकारी रुपमा प्रस्तुत हुन सकेकाे आराेप लगाइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर