• २०८३ असोज ३ शनिबार
  • Saturday, 19 September, 2026

बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढे

काठमाडौं । सातबिसे बेत्रावतीकी २६ वर्षीया रञ्जिना तामाङ चार महिनाकी सुत्केरी हुन् । भोटेकोशी बाढीपछि उनी उत्तरगया गाउँपालिका लहरेपौवास्थित शिवालय आधारभूत विद्यालयमा आश्रय लिइरहेकी छन् । जहाँ १५० भन्दा बढी विस्थापितहरू आश्रित छन् । शनिबारदेखि उनको चार महिनाको बच्चालाई ज्वरो आएको छ । उनी भन्छिन्– ‘चिसो लागेर हो कि केही थाहा छैन । आइतबार बिहान स्वास्थ्यकर्मीहरू शिविरमा आएका थिए । स्वास्थ्य जाँचपछि कागजमा औषधिको नाम टिपाइदिए र किनेर खानु भनी गए ।’

‘एक रुपैयाँ पैसा छैन कसरी किन्नु, पैसा भएको भए त बच्चालाई हिजै उपचार गराउन लान्थे,’ उनले भनिन्, ‘फेरि कुनै बजार बाँकी पनि छैन कहाँ गएर किन्नु, किन्न जान बाटो पनि हुनु पर्‍यो ।’ उनी मात्र होइन, बाढीबाट विस्थापित अधिकांश सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बिरामीहरूको समस्या उस्तै छ । कति समेत भने बाढीले घर बगाउँदा दीर्घरोगीहरुले सेवन गर्दै आएको औषधी मात्र होइन, चिकित्सकले सिफारिस गरेको औषधिको पूर्जा समेत बगेका छन् । 

‘धेरैलाई त कुन औषधि खाँदै थिए भन्ने पनि थाहा छैन,’ विदुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले भने, ‘उनीहरूलाई रोगको नाम मात्र थाहा छ, औषधीको नाम नै थाहा छैन ।’ नियमित सेवन गर्नुपर्ने औषधि बाढीपछि छुटेको उनले बताए । ‘अझ डरलाग्दो त छुटाउनै नहुने क्षयरोगको औषधि स्वास्थ्य संस्थाहरूमा सकिएको छ,’ उनले भने । उनका अनुसार देवीघाट नजिकको पीपलटारमा भाइरल ज्वरो फैलिएको छ । भाइरल अन्यत्र फैलनसक्ने जोखिम रहेको उनको भनाइ छ । ‘बाढीमा आफन्त गुमाएकाहरूमा बढीमा मनोसामाजिवक समस्या देखिन थालेका छ,’ उनले भने ।

‘सोमबार ड्रोनबाट खड्गभन्ज्याङमा रहेको स्वास्थय केन्द्रमा औषधि पुर्याउने भनिए नसकेको र अब बुधबार पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यहाँसम्म पुग्ने सडक नभएर ड्रोनबाट औषधि पठाउन लागेका हौं ।’

शिविर बनाइएको उत्तरगया गाउँपालिकाको लहरेपौवास्थित शिवालय आधारभूत विद्यालयको चिसो भुइँमा रञ्जिनालाई बस्न एउटा म्याट र एउटा तन्दा दिइएको छ । उनलाई बिहान बेलुकाको खाना र दिउँसो चाउचाउ, बिस्कुट, फ्रुटी दिइन्छ । बच्चालाई दुध नपुगेर पनि होला झिज्याइ रहने उनले सुनाइन । 

रञ्जिनाको छेउमै रहेकी सानीआमालाई ज्वरो आएको छ । ज्वरो आए पनि उपचारका लागि केही गर्नसक्ने अवस्था छैन । शिविरको एउटै कोठामा ३० जनालाई राखिएको छ । त्यत्रा मानिसको लागि जम्मा दुईवटा शौचालय छन् । बिहान शौचालय जान पनि निकै संघर्ष गर्नुपर्छ । हतार हुनेहरू पाखातिर जान्छन् ।

त्यसले पिउने पानीको मुहान दूषित हुने र झाडापखालालगायत समस्या हुनसक्ने चिन्ता थपिएको छ ।

त्रिशूली अस्पतालका अनुसार बाढीअघि दैनिक ७०० जनासम्म उपचारका लागि आउने गरेकोमा अहिले ५–१० जना मात्र आउने गरेका छन् । बाढीले सदरमुकामसँग अन्य क्षेत्रको सम्पर्कविच्छेद भएपछि उपचार गर्न आउने बिरामी स्वाटै घटेको छ । अस्पताल नजिकैको विस्थापित शिविरमा बसेकाहरूमध्ये केहीलाई झाडापखालाको समस्या भएर पनि उनीहरू अस्पताल पुग्न सकेका छैनन । झाडापखाला भएकाहरूको नमूना संकलन गरी प्रयोगशाला पठाइएकाको त्रिशुली अस्पतालका सूचना अधिकारी डा. रिकेश रानाले बताए । ‘जोखिम त बढेकै छ, स्वच्छ पिउने पानीको समस्या छ,’ उनले भने, ‘धेरै मानिस स्वास्थ्य समस्या भएर पनि उपचारको लागि अस्पतालसम्म आइपुग्न सकेका छैन ।’

एकै ठाउँमा राख्नु र बस्नु बाध्यता भए पनि लामो समय त्यसरी राख्दा अन्य रोगको जोखिम हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।  

भोटेकोशी बाढीमा सासु–ससुरा गुमाएर शोकमा रहेका पुनले थप प्रकोप हुन नदिन आवश्यक कदम चाल्नुपर्ने सुल्झाए । उनका सासु–ससुरा गोसाइँकुण्ड जाने क्रममा चढेको बस बाढीमा परेको आंशका गरिएको छ । उनका अनुसार शिविरमा कसैलाई हैजा वा रुघा नै लागि हालेमा अन्यलाई छिटै सरिहाल्ने सुनाए ।  

बाढीमा सयौं बेपत्ता भएका छन् । अहिलेसम्म कतिको मृत्यु भयो, कति हराए भन्ने तथ्यांक सरकार वा कुनै निकायसँग एकिन छैन । कसैले श्रीमान् गुमाएका छन्, कसैले श्रीमती, छोरा छोरी र अन्य आफन्त र सँगै बाढीबाट जोगिन भाग्दै गरेका साथी र छिमेकी गुमाएका छन् ।  

अन्य देशका अनुभवमा बाढीपछि मानसिक समस्यालगायत नसर्ने रोगको प्रकोप बढ्ने चिकित्सकहरूको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर