• २०८३ असोज ३ शनिबार
  • Saturday, 19 September, 2026

रसुवा बाढीमा बेपत्ता हुनेको संख्या ६ हजार पुग्यो

काठमाडौं । भोटेकोशी बाढीमा रसुवा र नुवाकोटबाट बेपत्ता हुनेको संख्या एकैदिनमा ९ सय ७१ जनाले वृद्धि भएर ६ हजार १ सय ५० पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मंगलबारको प्रतिवेदनमा बेपत्ताको संख्या ५ हजार १ सय ७९ जना थियो । बुधबार साँझको प्रतिवेदनमा भने भने बेपत्ताको संख्या वृद्धि ६ हजार १ सय ५० पुगेको छ । एकै दिनमा ९ सय ७१ जना थप बेपत्ता सुचीकृत भएका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले सम्बन्धित जिल्लाबाट बेपत्ताको सूचि थप भएर आएपछि वृद्धि भएको बताइन् । ‘थपिएका बेपत्ताको संख्या ३/४ दिन अघि नै प्राधिकरणमा आएको थियो,’ उनले भनिन्, ‘त्यतिबेला संख्या मात्रै आएकाले बेपत्ताको विवरणमा थप गरेनौं, रसुवा र नुवाकोट जिल्लाबाट बेपत्ताको नाम ठेगाना, उमेर, विस्तृत तथ्यांक अपडेट भएर आएपछि हामीले विवरण थप गर्‍यौं । एक्कासी तथ्याङ्क बढेको देखियो ।’

बेपत्ताको संख्या वृद्धि हुनुमा रसुवा, नुवाकोटका स्थानीयबासी, ती जिल्ला बाहेकका नेपाली र विदेशी नागरिकको संख्या पनि थप भएको छ । रसुवाबाट स्थानीय बेपत्ताको संख्या १ हजार ३ सय ९३ बाट बढेर १ हजार ६ सय ७७ पुगेको छ । अर्थात रसुवाबाट बेपत्ता हुनेको अद्यावधिक सूचिमा २ सय ८४ जना थप भएका छन् । त्यस्तै रसुवाबाट अन्य जिल्लाका थप २५० जना नेपाली नागरिक बेपत्ता भएका छन् । मंगलबारसम्म १ हजार ५ सय ८६ जना बेपत्ता रहेकोमा बुधबारसम्म १ हजार ८ सय ३६ जना बेपत्ता भएको तथ्यांक छ ।

त्यस्तै नुवाकोटका ७ सय ९६ जना स्थानीय बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । ६ सय ७१ जना बेपत्तामा थप १ सय २५ जना नुवाकोटका स्थानीय थप भएका हुन् । नुवाकोटबाट बेपत्ता हुने नेपाली नागरिकको संख्या पनि १ सय ७४ जनाले बडेको छ । १ हजार १ सय ३६ बाट बढेर १ हजार ३ सय १० जना पुगेको छ । विदेशी नागरिक ५ सय ८७ जना बेपत्ता रहेकोमा अद्यावधिक तथ्यांकमा ४९ जना बेपत्ता थपिएर ६ सय ३६ जना पुगेको छ ।

बाढीमा परेर १ हजार ४ सय ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । चितवनमा ३ सय ६४, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २०२, रसुवामा १ सय ९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा जनाको मानव अंग सहितको शव फेला परेको थियो । 

भोटेकोशीमा आएको बाढीले त्रिशूली नदि हुँदै शव र मानवअंगहरु ती जिल्लामा पूर्‍याएको थियो । बाढीमा परेर घाइते भएका २ जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको जनाइएको छ । ५ सय ४४ जना पुरुष, ३ सय ३६ जना महिलाको शव र ५२३ वटा आंशिक अंग फेला परेको प्राधिकरणले जनाएको छ । 

शव पहिचानका लागि १ हजार २ सय ८६ मृतकका १ हजार ८ सय ८९ जनाको डिएनए नमुना संकलन गरिएको छ । घाइते ३ सय ४४ जना अस्पतालमा उपचाररत छन् भने २ सय ८९ जना डिस्चार्ज भएका छन् ।

बाढीबाट विस्थापितहरु नुवाकोट र रसुवाका २९ वटा होल्डिङ सेन्टरमा बसोबास गरेका छन् । १ हजार ५ सय १५ जना होल्डिङ सेन्टरमा बसेका छन् । होल्डिङ सेन्टरमा बस्नेको संख्या भने क्रमशः घट्दो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर