• २०८३ असोज ५ सोमबार
  • Monday, 21 September, 2026

पोखरेलले ओलीको आलोचना गरेपछि ज्ञवालीले तयार पारे प्रशंसाको प्रतिवेदन

काठमाडौं । महासचिव शंकर पाेखरेलले अध्यक्ष केपी ओलीकाे आलाेचनासहित नेतृत्व हस्तान्तरणकाे विषय उठाएपछि अध्यक्ष ओलीले प्रतिवेदन लेख्ने व्यक्ति नै फेरे । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी ओलीको प्रशंसा नै प्रशंसा सहितको अर्को प्रतिवेदन तयार पार्न लगाएका हुन्।

‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को सदस्य नै नरहेका ज्ञवालीले ओलीले विगतमा धेरै राम्रो काम गरेको र अहिले नेतृत्व परिवर्तनको विषय असान्दर्भिक रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेका हुन्। जबकी कार्यदलकै प्रतिवेदनमा भने अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष थियो। 

ज्ञवालीले ल्याएको प्रतिवेदनमा ओलीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनले हासिल गरेको सफलता र उत्कर्ष तथा निर्वाचनमा भएको इतिहासकै कमजोर पराजयसम्मका समग्रपक्षको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने समेत भनेका छन्।

ज्ञवालीले ओलीकै नेतृत्वमा एकपटक असफल भएको संविधानसभाको दोस्रो निर्वाचन गरेर संविधान निर्माण गर्ने कुरामा सफलता हासिल भएको हो भन्ने समेत उल्लेख गरेका छन्।

‘उहाँकै नेतृत्वमा संविधान जारी गर्ने कुरामा रोक लगाउन खोज्ने बाह्य हस्तक्षेप र संविधान जारी भएपछि लगाइएको अघोषित नाकाबन्दीको डटेर सामना गर्दै त्यसलाई असफल बनाउने काम भएको हो,’प्रतिवेदनमा भनिएको छ, ‘उहाँकै नेतृत्वमा उत्तरी छिमेकी चीनसँग व्यापार पारवहन सम्झौता गरेर नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्र बनाउने कुरामा सफलता प्राप्त भएको हो। भूकम्पपछिको पुनर्निर्माण, कोभिड महामारीको सामना, पूर्वाधार विकास र सामाजिक न्याय र सुरक्षाको विस्तारमा समेत महत्वपूर्ण सफलता हासिल भएको हो।’

ज्ञवालीले भदौ २३ र २४ पछि उत्पन्न भएको परिस्थितिलाई सामना गर्नका लागि नै पार्टीले समयअगावै महाधिवेशन गरेको भन्दै नेतृत्व परिवर्तनको माग गर्न नमिल्नेतर्फ संकेत गरेका छन्।

‘महाधिवेशनको सफल आयोजनापछि पार्टीको आन्तरिक जीवनको समस्या समाधान भएको निष्कर्ष निकालिएको थियो,’ प्रतिवेदनमा भनिएको छ।

उनले भदौं २३ र २४ को घट्नालाई षडयन्त्रका रुपमा लिन नसक्दा निर्वाचनमा पराजय बेहोरेको उल्लेख गरेका छन्।

उपाध्यक्ष रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित उक्त कार्यदल १५ सदस्यीय छ।

कार्यदल सदस्यसचिव एवम् पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा भने पछिल्लो विधान अधिवेशनबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र मुख्य पदमा ‘बढीमा दुई कार्यकाल’को व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ।

६५ पृष्ठ लामो सो प्रतिवेदनमा एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

दुई प्रतिवेदनको निष्कर्ष र प्रस्तावसहित अध्यक्ष ओलीले अर्को प्रतिवेदन तयार पार्न भनेका थिए। सुरूमा उनले महासचिव एवम् कार्यदल सदस्यसचिव पोखरेललाई नै अर्को प्रतिवेदन तयार पार्न भनेका थिए।

पोखरेलले नमानेपछि उनले पार्टी उपाध्यक्ष एवम् कार्यदल सदस्य विष्णु पौडेललाई आग्रह गरेका थिए। पौडेलले पनि नमानेपछि ओलीले कार्यदलको सदस्य नै नरहेका पूर्वउपमहासचिव ज्ञवालीलाई प्रतिवेदन लेखनको जिम्मा दिए।

‘महासचिवले तल्लो तहदेखि आएका सुझावका आधारमा लेखेको प्रतिवेदन पुनर्लेखन गर्न नमानेपछि अध्यक्षले उपाध्यक्षलाई भन्नुभएको हो, उहाँले पनि नमानेपछि अब प्रदीपजीले लेख्नुहुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर