बिहीबारदेखि पाँच दिनसम्म वर्षाको सम्भावना
काठमाडाैं । नेपालमा आगामी बिहीबारदेखि पाँच दिनसम्म वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमानका विभिन्न मोडलहरूले ८ असोज बिहीबारदेखि १२ असोज सोमबारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने र विशेष गरी शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना देखाएका छन् ।
युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट (इसिएमडब्लुएफ), अमेरिकी ग्लोबल फोरकास्ट सिस्टम (जिएफसी) र जर्मन मौसम सेवाको आइकनसहितका विभिन्न मौसम पूर्वानुमान मोडलको प्रक्षेपणमा आगामी साता बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालसम्म आइपुग्ने देखिएको मौसमविद्हरूले बताएका छन् । तर, कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा भने मोडलहरूबिच अझै समानता छैन ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडलको अध्ययन गर्दा बिहीबारदेखि सोमबारसम्म नेपालमा वर्षाको सम्भावना बलियो देखिएको बताए । ‘न्यूनचापीय प्रणाली बन्दै छ । नेपालसम्म आइपुग्ने प्रक्षेपण रहेकाले भारी वर्षा गराउने सम्भावना देखिन्छ । चार–पाँच दिन वर्षा हुने देखिए पनि दुई दिन भारी वर्षाको प्रबल सम्भावना छ,’ उनले भने, ‘तर, यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित भूभागमा केन्द्रित हुन सक्छ ।’
तर, उपलब्ध मोडलका तथ्यांकसमेत विश्लेषण गर्दै आफ्नै मोडल (गणितीय मौसम पूर्वानुमान) बाट प्रक्षेपण गर्दै आएको नेपाल मौसम विज्ञान विभागले भने आइतबार साँझ विज्ञप्ति जारी गरेर ‘न्यूनचापीय प्रणालीले नेपालमा वर्षा गराउने भए पनि वर्षाको जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन,’ भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ । ‘उत्तर अन्डमान सागर तथा आसपासमा न्यूनचापीय क्षेत्र विकसित भइरहेको छ । थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ,’ उनले भने, ‘तर, प्रणाली अझै पूर्ण रूपमा विकसित भइसकेको छैन । त्यही भएर कुन क्षेत्रमा कति पानी पर्छ भनेर अहिले नै यकिन गर्न सकिँदैन । आगामी दिनमा प्रणालीको दिशा र मोडलको प्रक्षेपण परिवर्तन हुन सक्छ ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले न्यूनचापीय प्रणालीको असर कुनै न कुनै रूपमा नेपालमा पर्न सक्ने देखिएको बताए । ‘ओपन सोर्स मोडलले नेपालमा वर्षा देखाएका छन् । भारतको मौसम विभागले पनि उत्तर–पश्चिम भएर आउँछ भनेको छ,’ उनले भने, ‘नेपालमा पानी पर्न सक्छ । तर, कुन दिशा र कति असर पर्न सक्छ भनेर निक्र्योल हुन बाँकी छ । हामी र मौसम विभागबिचको आइतबारको छलफलपछि विज्ञिप्त आएको हो । उहाँहरूले सोमबार साँझ वा मंगलबारसम्म प्रक्षेपण गर्नुहुन्छ ।’
भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर अन्डमान सागर र पूर्व–मध्य बंगालको खाडी आसपास विकसित न्यूनचापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ । यो प्रणाली सोमबार न्यूनचापीय (डिप्रेसन) र मंगलबार अझ बलियो भएर डिप डिप्रेसन (न्यूनचापीय प्रणाली) बन्न सक्ने तथा त्यसपछि दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ पुग्ने अनुमान छ ।






प्रतिकृया दिनुहोस