• २०८३ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2026

केन्द्रीय सदस्य फकाउन थाले ओली, बैठकका एजेण्डा तय

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटिमा प्रस्तुत हुने एजेन्डा तय गरेको छ ।  

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकले केन्द्रीय कमिटिमा अध्यक्षको मन्तव्य, केही केन्द्रीय सदस्यहरूको मनोनयन, र अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुति तथा त्यसपछिको छलफल समावेश लगाएताक एजेण्डा तय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले कार्यदलको प्रतिवेदन सचिवालयमा बैठकमा प्रस्तुत नभएको बताए । 

कार्यदलले सचिवालयमा आफ्नो प्रतिवेदन बुझाइसकेकाले अब कार्यदलको काम र भूमिका औपचारिक रूपमा सकिएको उनले बताए।  कार्यदल देखाउन मात्र नभई तल्लो तहको समीक्षा र सुझाव संकलनका लागि बनेको भन्दै उहाले तल्लो तहबाट आएका सुझावहरूलाई छुट्टै अनुसूचीमा नराखी प्रतिवेदनभित्रै समावेश गरिएको जानकारी दिए ।  

साथै भट्टले प्रतिवेदनमा अध्यक्षको रिजर्भेसन रहेका बिषयलाई पहिले नै प्रतिवेदनबाट हटाइसकिएकाले अब अध्यक्षको रिजर्भेसनको कुनै औचित्य वा विवाद बाँकी नरहेको उल्लेख गरे। प्रतिवेदनमाथि केन्द्रीय कमिटिमा नै थप छलफल हसने उनको भनाइ छ । 

यसैबीच ओलीले केन्द्रीय कमिटी बैठकअघि केही पदाधिकारी र केन्द्रीय सदस्यसँग ‘वान टू वान’ कुराकानी गरेका छन् । आइतबार पार्टी कार्यालयमा सचिवालय बैठक सिध्याएर भक्तपुर, गुण्डुस्थित निवास पुगेका उनले त्यहीँ केही पदाधिकारीसहित केन्द्रीय सदस्यलाई बोलाएका थिए ।

ललितपुर, झम्सिखेलस्थित रामबाग महलमा आजदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकमा आफ्ना सरोकारहरुमाथि समर्थन खोज्दै ओलीले उक्त भेटघाट गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदन लेख्नुअघि १३ वटा फरक-फरक समूहसँग गरेका छलफलमा प्राप्त सुझावलाई प्रतिवेदनमा हुबहु राख्ने विषयदेखि विधान महाधिवेशन र प्रतिनिधि परिषद्को बैठकसम्मका विषयमा आफ्नो पक्षमा उभिन उनले आग्रह गरेका छन् ।

गुण्डुमा बोलाइनेमध्ये ओलीको पक्षमा खुलेका र उनकै पक्षमा अभिव्यक्ति दिँदै आएका नेताहरु खासै थिएनन् । पदाधिकारीमध्ये राम्रोसँग नखुलेका उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्ट, सचिव छविलाल विश्वकर्मा, खगराज अधिकारी, पद्मा अर्यालसहितका नेतालाई आफ्नो पक्षमा उभिनका लागि उनले आग्रह गरेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर