बसमा आगो लगाउनुअघि चालकले भनेका थिए: गल्ती छैन, बग्गीखाना जान्न
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै आगो लगाउनुअघि चालकले ट्राफिक प्रहरीसँगको विवादका क्रममा आफू मर्न तयार रहेको बताएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो क्लिपमा चालकले भनेका छन्, ‘बरु म मर्न तयार छु, कुनै हालतमा म झुक्दिनँ, मेरो कुनै गल्ती छैन।’
आफ्नो गल्ती नभएको भन्दै उनले ट्राफिक प्रहरीको कारबाहीका लागि ‘बग्गीखाना’ जानसमेत अस्वीकार गरेका थिए। ट्राफिक प्रहरीले हर्न बजाएको विषयलाई लिएर कारबाही प्रक्रिया अघि बढाउन खोजेपछि चालकले प्रतिवाद गरेका थिए। विवाद चर्किँदै गएपछि आक्रोशित चालकले बसभित्रै आगो लगाएका हुन्।
उक्त भिडियोमा चालक लामाले आफू झापाको भएको बताउँदै ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, ‘हामी झापाको मान्छे हो सर,.... यहाँ म छोड्दिनँ....जे गर्न सक्छस् गर् रे पुलिस प्रशासनले।’ त्यतिबेला वरिपरि रहेका सर्वसाधारण तथा अन्य व्यक्तिहरूले उनलाई सम्झाउँदै गाडी साइड लगाउन आग्रह गरे पनि उनी अत्यन्तै उत्तेजित अवस्थामा देखिएका थिए।
सोमबार मध्याह्न बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ भने अवस्था गम्भीर छ। बसमा आगलागी भएपछि प्रहरीले ढोका फोडेर लामाको उद्धार गरेको थियो। लामा काभ्रेका हुन्।
गाडीको हर्न बजाएको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएको ऋद्धिसिद्धि यातायातका सञ्चालक तथा बसधनी लव केसीले बताए। उनका अनुसार ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि चालकले त्यसको प्रतिवाद गरेका थिए। केसीका अनुसार चालकले आफूलाई ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यसअघि आफूसँग आत्महत्या गर्ने कुरा पनि गरेका थिए।
त्यस विवादको केही समयलगत्तै लामाले त्रिपुरेश्वर सडक खण्डमा बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्र आफूलाई बन्द गरी आगो लगाएका थिए । बसमा कुनै पनि यात्रु नभएका बेला चालकले आगो लगाएपछि गाडी ह्वारह्वार्ती बलेको थियो। तत्कालै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने गाडीभित्र जलेर गम्भीर घाइते भएका लामाको उद्धार गरिएको थियो।







प्रतिकृया दिनुहोस