बेलायत र रुसबीच नयाँ युद्ध हुन लागेकाे हाे?
काठमाडाैं । सामाजिक सञ्जाल तथा पश्चिमा देशका मुलधारका सञ्चारमाध्यममा अहिले रुसले नेटो राष्ट्रमाथि आक्रमण गर्नसक्ने विषयमा चिन्ता भइरहेको छ ।
केही दिनअघि मात्रै बेलायती सञ्चारमाध्यम बीबीसीले लेखेको थियो, ‘युद्ध हुनसक्छ । के हामी मनोवैज्ञानिक रुपमा तयार छौं ?’ एलन लिट्टलले तयार गरेको उक्त रिपोर्टमा बेलायतमा युद्धबारे पर्याप्त तयारी नभएको उल्लेख थियो । ‘यदि अचानक युद्धको अवस्था आएमा के गर्ने ? के हामीलाई थाहा छ कि राज्यले हामीबाट कस्तो अपेक्षा गर्छ ?’ समाचारमा सोधिएको थियो ।
बेलायत सरकारले नागरिकहरूलाई आपत्कालीन खाद्य सामग्रीको सञ्चय गर्न, खानेपानी खेर नफाल्न र सम्भावित युद्धका लागि तयारी रहन आह्वान गरेको विषय यस समाचारमा उल्लेख थियो । सरकारले दशकौंसम्म अपडेट नगरेको ‘वार बुक’ लाई अपडेट गर्ने तयारी पनि थालेको यसमा उल्लेख छ ।
बेलायती सेनाका प्रमुख सर रिचर्ड नाइटनको अनुभव उद्रृत गर्दै लेखिएको थियो, ‘हालको अवस्था मेरो ३५ वर्षे सैन्य करिअरकै सबैभन्दा खतरनाक कालखण्ड हो ।’
युरोपले भित्राभित्रै यस संकटसँगै जुध्नका लागि तयारी गरिरहेको समाचार पनि बाहिरिएका छन् । अगस्ट २०२५ मा, फाइनान्सियल टाइम्सले युरोप ठूलो परिमाणमा हात–हतियार सुदृढीकरणको चरणमा रहेको रिपोर्ट प्रकाशित गरेको थियो ।
युरोपभरका ३७ वटा रक्षा कम्पनीहरूको १५० वटा साइटहरूको स्याटेलाइट तस्बिर अध्ययन गर्दा ७० लाख वर्ग मिटरभन्दा बढी क्षेत्रमा नयाँ हात-हतियार निर्माण कारखाना तयार गरिएको उक्त समाचारमा उल्लेख थियो ।
दोस्रो विश्वयुद्धताका १९४० को दशकमा जर्मन ट्यांकहरु लण्डनका सडकमा गुडेका थिए । त्यसपछि बेलायती भूमीमा कुनै पनि युद्ध भएको छैन ।
इतिहासकार तथा ‘वारः हाउ कन्फ्लिक्ट शेप्ड अस’ की लेखिका मार्गरेट म्याकमिलनको भनाई उद्रृत गर्दै बीबीसीको रिपोर्टमा लेखिएको छ, ‘ खतरा भौतिक ट्यांकहरूको मात्र होइन । समुद्रमा केबुलहरु बिग्रनसक्छन् । हाम्रो प्रणाली ह्याक हुनसक्छ । साइबर वार हुनसक्छ र यसले हाम्रा धेरै कुराहरु बिगार्नेछन् ।’ यस खराब अवस्थाका लागि बेलायत पूर्ण तयार नरहेको पनि रिपोर्टमा उल्लेख थियो ।
‘८० वर्षभन्दा बढी समयदेखि आफ्नै भूमिमा युद्ध नभोगेको बेलायती समाज मनोवैज्ञानिक रूपमा युद्धका लागि तयार छैन । पहिलो विश्वयुद्धअघिको एड्वार्डियन युग जस्तै, शान्ति नै स्थायी हो भन्ने भ्रममा समाज बाँचिरहेको छ,’ रिपोर्टमा उल्लेख छ ।
युरोपेली गुप्तचर अधिकारीहरूले नेटोमाथि रुसले छिट्टै परीक्षण आक्रमण गर्न सक्ने सम्भावना व्यक्त गरेपछि यस्तो चिन्ता सुरु भएको हो ।







प्रतिकृया दिनुहोस