• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

१० दिनपछि सुरुङबाट निकालिएका महर्जन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । १० दिनसम्म अँध्यारो सुरुङभित्र जीवनका लागि संघर्ष गरेका कबीर महर्जन शुक्रबार अस्पतालबाट घर फर्किएका छन्।

रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर महर्जन स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

गत भदौ १० गतेको भीषण बाढीपछि सुरुङभित्र फसेका महर्जनले १० दिनसम्म अँध्यारो र अनिश्चितताबीच बिताएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले लामो प्रयासपछि उनलाई जीवितै उद्धार गरेको थियो।

उद्धारपछि उपचारका लागि सैनिक अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्यमा क्रमशः सुधार आएपछि शुक्रबार उनी डिस्चार्ज भएका हुन्। अस्पतालबाट बाहिरिँदा उनी पूर्ण रूपमा होसमा र स्वस्थ देखिएका थिए।

अस्पतालबाट आफ्नो निवासतर्फ फर्किँदा महर्जनलाई बाटोमा स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए। लामो समयपछि घर फर्किएका उनलाई परिवार तथा आफन्तले भावुक हुँदै स्वागत गरेका थिए।

महर्जनले आफूलाई सुरुङबाट जीवितै बाहिर निकाल्ने उद्धार टोली र उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्। १० दिनको अँध्यारोपछि घरको उज्यालोमा फर्किएको कबीरको यो यात्रा बाढीपछिको सबैभन्दा चर्चित उद्धार घटनामध्ये एक बनेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर