महासचिव पोखेरेलले लेखेः जबरा पक्राउ सरकारकाे गलत र स्वेच्छाचारी कार्य
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गरेको पक्राउप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।
प्रहरीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो। उनी अहिले रिहासमेत भइसकेका छन्।
पोखरेलले जबराको पक्राउ नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको उल्लेख गरेका छन्। ‘गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो,’ पोखरेलले भनेका छन्।
पोखरेलले सबैलाई गलत कामको खबरदारी गर्नसमेत आग्रह गरेका छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो। हालसम्म प्रहरीले उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।







प्रतिकृया दिनुहोस