• २०८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026

चोलेन्द्र पक्राउको औचित्य पुष्टि गर्न सरकारलाई कठिन, अपरिपक्व कदमको भयो आलोचना

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार मध्यरातिदेखि करिब १२ घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ । मध्यरातमा निवासमा पुगेर पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रण गरेकामा पूर्वन्यायाधीशहरू र अवकाशप्राप्त प्रहरी अधिकृतहरूले नै आलोचना गरेका छन् ।

महाराजगन्जस्थित घरमा सुतिरहेका जबरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण ‘उनीमाथि सुरक्षा खतरा’ भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन् । तर, सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार पूर्वप्रधानन्यायाधीश चौबिसै घण्टा सुरक्षा घेरामा हुन्छन् । उनलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको थियो । मानवअधिकार आयोगको टोलीलाई समेत उनीसँग भेट्न दिइएन ।

जबरालाई दिनभर नियन्त्रणमा राख्नुको औचित्य आफूले नदेखेको पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बताएका छन् । ‘पूर्वप्रधानन्यायाधीशमाथि सुरक्षा चुनौती हुनुपर्ने कारण देख्दिनँ, भए पनि घरमै सुरक्षाकर्मी थप गरेर सुरक्षा दिन सकिन्थ्यो,’ उनले कान्तिपुरसँग भने ।

प्रहरी नियन्त्रणपछि जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर बाहिरी भेटघाट निषेध गरिएको थियो । खड्काले भने, ‘उहाँलाई सुरक्षाका लागि मात्र राखेका हौं, उपयुक्त व्यवस्थापनपछि कार्यालयबाट गइसक्नुभएको छ ।’ कार्यालयबाट छुटेपछि जबरा घर भने पुगेका छैनन् । प्रहरी निगरानीमा अन्यत्र कहीँ बसिरहेको अधिकृतहरूले बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडा नेतृत्वको टोली आइतबार राति साढे १२ बजेतिर महाराजगन्जस्थित जबरा निवास पुगेको थियो । सादा पोसाकमा रहेको प्रहरी टोलीलाई गेटमा रहेका सशस्त्र प्रहरीको टोलीले सुरुमा रोकेको थियो । भित्र जबरासहित उनको परिवारका सदस्य मस्त निद्रामा थिए ।

प्रहरी टोलीले आफूहरू प्रहरी भएको र पूर्वप्रधानन्यायाधीशलाई लैजान आएको बताएपछि त्यहाँ तैनाथ सशस्त्र प्रहरीले जबराको निजी सुरक्षा अधिकृत (पीएसओ) सँग सम्पर्क गर्न भनेका थिए । प्रहरी टोलीले सम्पर्क गरेपछि पीएसओ आफ्नो घरबाट जबराको निवासतिर आए । त्यतिञ्जेल रातिको १ बजिसकेको थियो ।

प्रहरी टोलीले जबरालाई सुरक्षा चुनौती रहेको भन्दै आफूहरूसँगै जानुपर्ने बतायो । चुनौती भए घरमै सुरक्षाकर्मी थपिदिन जबराले आग्रह गरे, तर प्रहरी टोलीले लिएरै जाने अडान राख्यो । उनीहरूले जेन–जीलगायत अरू पक्षबाट चुनौती भएको दाबी गर्दै सँगै जानुपर्ने दोहोर्‍याए ।

पूर्वप्रधानन्यायाधीश जबरा अलमलमा परे । लुगा फेरेर आउँछु भन्दै कोठातिर छिर्न खोजे । ‘तर उहाँहरूले केही हुँदैन, यत्तिकै जाऔं भन्नुभयो,’ जबराको पारिवारिक स्रोतले भन्यो, ‘कार्यालयमै पुगेर कुरा गरौं भनेपछि उहाँलाई अब जानैपर्ने भयो भन्ने लाग्यो ।’

त्यसपछि परिवारका अरू सदस्यलाई ‘केहीबेरमा फर्किनुहुन्छ’ भन्दै प्रहरी टोली जबरालाई लिएर हिँड्यो । ‘न पक्राउ पुर्जी दिइयो न आरोपबारे केही भनियो,’ परिवारका एक सदस्यले कान्तिपुरसँग भने, ‘त्यसको केही घण्टापछि पूर्वप्रधानन्यायाधीश पक्राउ परेको भन्दै समाचार आउन थाले ।’

जबरालाई प्रहरी कार्यालय लगेको केही घण्टापछि सञ्चारकर्मीले यसबारे सोधेको प्रश्नमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरूले ‘केही विषयमा उनीविरुद्ध उजुरी परेको’ भन्ने उत्तर दिए । तर, उजुरीको विस्तृत विवरण खुलाएनन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले चाहिँ जबरालाई सुरक्षा चुनौती भएपछि कार्यालयमा ल्याइएको जिकिर गरे । उनले भने, ‘उहाँ सुरक्षित ठाउँमा बसिरहनुभएको छ ।’ जबरालाई कोबाट सुरक्षा चुनौती भयो भन्ने चाहिँ उनले खुलाएनन् ।

‘पूर्वप्रधानन्यायाधीशलाई आजै छाडिन्छ ?’ भन्ने प्रश्नमा कार्कीले भनेका थिए, ‘छुट्नुहुन्छ, मुद्दा चल्ने वा त्यस्तो केही होइन ।’ नभन्दै दिउँसो २ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयले परिवारको जिम्मामा पूर्वप्रधानन्यायाधीश जबरालाई छाड्यो । तर उनलाई कस्तो सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालयमा लगेर राखियो र त्यो चुनौतीलाई निस्तेज पार्न त्यस्तो के गरियो भन्ने प्रश्न अझै अनुत्तरित छ ।

एक अवकाशप्राप्त प्रहरी महानिरीक्षकका अनुसार बहालवाला वा पूर्वविशिष्ट व्यक्तिलाई नियन्त्रणमा लिने सन्दर्भमा विगतमा गृहमन्त्री वा प्रधानमन्त्रीले महान्यायाधिवक्ता र आईजीपीलाई बोलाएर छलफल गर्ने, त्यसको सकारात्मक र नकारात्मक दुवै पक्ष केलाउने र बल्ल नियन्त्रणमा लिने अभ्यास रहँदै आएको थियो । ‘तर यस घटनामा पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा राख्दा आउन सक्ने प्रतिक्रियाबारे सामान्य छलफल पनि भएजस्तो देखिँदैन,’ उनले भने ।

उनले यसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसमेत दबाबमा परेजस्तो देखिएको बताए । ‘जति नै दबाब आएको विषयमा पनि नेतृत्वले सधैं त्यसको जोखिमबारे राजनीतिक नेतृत्वलाई जानकारी गराउँछ, अदालतमा टिक्न सक्ने, नसक्नेबारे बताउँछ,’ उनले भने, ‘तर चर्को दबाब हुँदा प्रहरी नेतृत्व त्यसलाई कार्यान्वयन गर्न लाचार हुन्छ ।’

प्रहरी उच्च स्रोतले समेत पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाटै दबाब आएको कान्तिपुरसँग पुष्टि गरेको छ । अमेरिका भ्रमणबाट प्रधानमन्त्री वालेन्द्र शाह, उनका राजनीतिक सल्लाहकार कुमार बेन फर्किएलगत्तै जबराबारे छलफल हुन थालेको स्रोतको दाबी छ । त्यसपछि शनिबार बेलुकीबाटै उनलाई नियन्त्रणमा लिन प्रहरीमाथि दबाब आउन थालेको थियो ।

‘टेक्ने ठाउँ केही नभएपछि सुरक्षा चुनौतीका कारण ल्याइएको भनिएको हो,’ ती पूर्वआईजीपीले भने, ‘साँच्चै सुरक्षा चुनौती हुँदा सम्बन्धित व्यक्तिले खबर गर्ने हो, अनि सुरक्षा प्रदान गर्ने जिम्मेवारी हेडक्वार्टरमा भएको सुरक्षा निर्देशनालयको हो ।’ सिधै अपराध अनुसन्धान कार्यालयलाई प्रयोग गरिएकाले यो विषय ‘सुरक्षा चुनौती’ सँग मात्र सम्बन्धित नदेखिएको उनले बताए । कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर