संसदमा पनि उठ्याे संसद पुनःस्थापानाकाे प्रश्न
काठमाडौँ । विपक्षी एमालेले अध्यादेशबाट निष्कृय पारिएका विभिन्न ऐनका व्यवस्था जगाउन ल्याएको अध्यादेशको विरोध गरेको छ । एमालेका सांसद पुष्पराज कँडेलले अध्यादेशबाट निष्कृय पारिएका ऐनका पुरानै व्यवस्था जगाउने भए त्यतिबेला नियुक्त भएकाहरूलाई पनि जगाउनुपर्ने तर्क गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ को प्रतिनिधिसभा निर्वाचनबाट आएको संसद पुनःस्थापनाको माग गर्दै आएका छन् । त्यसका लागि केन्द्रीय समितिबाट निर्णय नै गरिएको छ ।
एमाले सांसद कँडेलले अध्यादेशले खारेज भएका ऐनका व्यवस्था मात्र नभई पुराना नियुक्ति र पुरानो संसद नै जगाउने हो कि भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथिको सामान्य छलफलमा सहभागी हुँदै सांसद कँडेलले उक्त धारणा राखेका हुन् ।
सरकारले अध्यादेशबाट ८५ ऐनका खारेज भएका व्यवस्था फिर्ता ल्याउन विधेयक ल्याएको हो ।
रास्वपाको सरकारलाई यस्ता कार्य गर्न नमिल्ने सांसद कँडेलको भनाइ थियो । 'जान्नेलाई छान्ने भन्ने पार्टीले ल्याएर आएको छ, जस्ताको तस्तै दोहोर्याएर ल्याएको छ । यो पटक्कै मिलेन । मेरो विचारमा यो विधेयक आवश्यक थिएन । तपाईंहरूमाथि नै यसले प्रश्न उठाउँछ,' कँडेलले भने, 'अब यसैमा गइसकेपछि पहिला नियुक्त गरेकाहरूलाई पनि जगाइदिउँ न त त्यसोभए, खाउन् केही समय । संसदै पो जगाइ दिने हो कि पुरानो ।'
सरकारले अध्यादेश ल्याएर केही नियुक्ति खारेज गर्ने र पुनः सोही कानुनी व्यवस्था जगाउने काम गरेको सही नभएको उनको भनाइ थियो ।
यसरी जाँदा संस्थागत स्थायित्व नहुने पनि कँडेलको भनाइ थियो । 'यो ल्याउन किन हुँदैनथ्यो भने वर्तमान सरकार स्थायित्वको कुरा गरेर, स्थायित्वको नारा दिएर, सुशासनको नारा दिएर, थिति बसाल्ने नारा दिएर आएको हो । तीन-तीन महिनामा खास विशेष प्रयोजनका लागि कुनै ऐन हटाउने फेरि आफ्नो स्वार्थको लागि त्यसलाई जगाएर ल्याएर आउने ?,' उनले भने ।
यस्ता गतिविधिले मुलुकमा स्थायित्व पनि नहुने र मुलुकको अर्थतन्त्र पनि माथि नजाने उनले बताए । यस्ता कार्यले विदेशी लगानी ल्याउने र स्वदेशी लगानी गर्नलाई प्रोत्साहित गर्ने उद्देश्य पूरा नहुने उनको भनाइ थियो ।







प्रतिकृया दिनुहोस