दशैंका लागि नयाँ नाेट चाहिएकाे छ? यसरी पाइन्छ

काठमाडौँ । राष्ट्र बैंकले नयाँ नोट साटनका लागि विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट सजिलै नयाँ नोट सटही सुविधा पाउने व्यवस्था मिलाइएको छ । नयाँ नोट सटही सुविधा उपलब्ध भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरिदिएको थियो । यस वर्ष भने नयाँ नोट नै सटही गरिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाबाहेक सबै दिन सर्वसाधारणले नोट साट्न सक्नेछन् ।

काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले बताएको छ । यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले जनाए ।

राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले सर्वसाधारणले आफूलाई पायक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सक्ने उनको भनाइ छ । आफ्ना ग्राहकलाई वितरण गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट थप नयाँ नोट लिइसकेको पनि उनले बताए ।

‘यस वर्ष सार्वजनिक सूचना जारी गरेर घोषित रूपमा नयाँ नोट सटही गर्ने योजना छैन,’ दाहालले भने, ‘नयाँ नोट साट्न आउने जोकोहीलाई एक/दुई सेट नयाँ नोट सटही गरेर पठाएका छौं ।’ कसैलाई धेरै नोट सटही गर्नुपरे उनीहरूको मागअनुसार सबै नयाँ नोट नदिइने पनि दाहालले प्रस्ट्याए । ‘उनीहरूका लागि सुकिला नोट उपलब्ध गराउने गरेका छौं,’ दाहालले थपे ।

विगतमा ५ रुपैयाँदेखि १ सय रुपैयाँका एक/एक सेट (बन्डल) गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरका नोट सटही सुविधा दिँदै आएको राष्ट्र बैंकले यस वर्ष एक बन्डलभन्दा बढी पनि सटही गर्ने सुविधा दिएको छ । यस वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि सर्वसाधारणलाई एक/दुई सेटसम्म सटही दिने गरिएको दाहालले बताए ।

राष्ट्र बैंकले वर्षभर (नियमित रूपमा) नयाँ अथवा सुकिला नोट सटी सुविधा दिँदै आएको छ । दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले विगतका वर्षमा दसैं नजिकिँदै गर्दा निश्चिम मिति नै तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गरिँदै आएको थियो । यस वर्ष भने कुनै तामझाम र उत्सवबिनै नोट सटही गर्न चाहनेहरूका लागि सटही सुविधा दिएको हो ।

‘केही दिनयता नियमित रूपमा सर्वसाधारणले नयाँ नोट सटही गरिरहनुभएको छ । विगतका वर्षमा जस्तो धेरै भीडभाड छैन, सामान्य छ,’ दाहालले भने, ‘उपभोक्ताबाट माग पनि कम आएकाले राष्ट्र बैंकले उत्सवका रूपमा नयाँ नोट वितरण नगरेको हो ।’

दसैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यद्यपि गएका दुई आर्थिक वर्ष सुकिला नोट मात्र सटही सुविधा दिइएको थियो । दसैंतिहारमा बाहिरिने उक्त रकममध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

कोभिडको एक वर्ष भने राष्ट्र बैंकले नयाँ नोट वितरण गरेन । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन ।

दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ । दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । गत वर्ष गुणस्तरीय सुन अभाव भएको भन्दै राष्ट्र बैंकले असर्फी वितरण गरेको थिएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर