• २०८३ असोज २४ शनिबार
  • Saturday, 10 October, 2026

नोबेल शान्ति पुरस्कार भारतीय मूलकी दक्षिण अफ्रिकन नवी पिल्लेलाई 

काठमाडौं । यसवर्षको नोबेल शान्ति पुरस्कार नवनेथम ‘नवी’ पिल्लेलाई प्रदान गरिएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि पिल्लईलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको नोबेल समितिले जनाएको छ।

दक्षिण अफ्रिकाको डरबनमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी नवनेथम ‘नवी’ पिल्लेले रंगभेदको समयमा भेदभाव र सामाजिक असमानताको सामना गरेकी थिइन्।

उनले वकालतको पेसा अँगाल्दै कानुनी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइन्। पिल्लेले संस्थागत भेदभाव, जातीय विभेद र समाजबाट वञ्चित गर्ने व्यवस्थाजस्ता संरचनागत चुनौतीविरुद्ध आवाज उठाउँदै आएकी छन्।

को हुन् नवी पिल्ले?
नवी पिल्ले दक्षिण अफ्रिकाकी प्रख्यात मानवअधिकारकर्मी तथा न्यायविद् हुन्। सन् १९६७ मा उनी दक्षिण अफ्रिकाको नाटाल प्रान्तमा आफ्नै कानुनी अभ्यास सुरु गर्ने पहिलो महिला बनेकी थिइन्। डरबनको एक गरिब भारतीय समुदायमा बस चालककी छोरीका रूपमा जन्मिएकी पिल्लेले रंगभेदको कठिन समयमा आफ्नो कानुनी र मानवअधिकारसम्बन्धी यात्रा सुरु गरेकी थिइन्। उनी दक्षिण अफ्रिकामा आफ्नै कानुनी अभ्यास स्थापना गर्ने पहिलो गैरश्वेत महिला तथा उच्च अदालतको न्यायाधीश नियुक्त हुने पहिलो गैरश्वेत महिलासमेत बनिन्।

रंगभेदविरोधी अभियन्ताहरूको पक्षमा वकालत गरेकी पिल्ले पछि संयुक्त राष्ट्रसंघको महासभाबाट रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणको न्यायाधीशमा निर्वाचित भइन्। उनले उक्त न्यायाधिकरणमा आठ वर्ष सेवा गरिन्, जसमध्ये चार वर्ष अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिन्।

८५ वर्षीया पिल्लेले हालैसम्म प्यालेस्टिनी अधीनस्थ भूभागसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगको अध्यक्षता गरेकी थिइन्। उनी हालः म्यानमारमाथि नरसंहारको आरोपसम्बन्धी मुद्दा हेर्ने अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशका रूपमा कार्यरत छिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर