खगेन्द्र सुनारमाथि थालियो अनुसन्धान, सार्वजनिक कार्यक्रममा जान प्रतिबन्ध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारबारे सार्वजनिक भएका समाचार र श्रव्यसामग्रीमाथि आन्तरिक छानबिन गर्ने भएको छ।
पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।
छानबिन प्रक्रियालाई प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीले जनाएको छ।
रास्वपाले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयमा आफ्नो पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।
पार्टीले यस विषयमा राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने जनाएको छ।
सुनारसँग सम्बन्धित विषयमा पार्टीले आन्तरिक छानबिन अघि बढाएको भए पनि त्यसको निष्कर्ष भने सार्वजनिक भएको छैन।






2026-10-13-01-12-08.jpeg)
प्रतिकृया दिनुहोस