प्रधानमन्त्री बालेन मंसिर दाेस्राे साता भारत जाने तयारीमा, के छन् एजेण्डा?
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौं र नयाँदिल्लीमा तयारी सुरु भएको छ । गत १३ चैतमा सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो ।
उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ । केही भारतीय र नेपाली सञ्चारमाध्यमले शाहले २३ देखि २५ नोभेम्बर (७–९ मंसिर) मा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइनसकेको बताए ।
स्रोतका अनुसार शाहको भारत भ्रमण तीन दिनको हुनेछ भने दिल्लीबाहिर जाने सम्भावना कम छ । भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
प्रधानमन्त्री शाह असोज दोस्रो साता संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क गएका थिए । गत १३ चैतमा पदभार सम्हालेयता उनको यो पहिलो विदेश भ्रमण थियो । परराष्ट्रमन्त्री शिशिर खनाल पनि महासभामा सहभागी भएका थिए । महासभामा सहभागी भएर फर्किएपछि खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताएका थिए । दुवै पक्षले शाहको भ्रमणलाई ‘फलदायी र परिणाममुखी’ बनाउन चाहेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीको शपथ लिएलगत्तै शाहलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले अनुकूल समयमा भारत भ्रमण गर्न निम्तो दिएका थिए । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्ध सुदृढ बनाउने र आपसी सहकार्य अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका दुई वरिष्ठ अधिकारीले द काठमान्डु पोस्टलाई बताएअनुसार भ्रमणको मिति तय हुन बाँकी रहे पनि भ्रमणका क्रममा उद्घाटन गरिने परियोजनाहरू तथा हस्ताक्षर गरिने सम्झौताको सम्भावित सूची दुवै पक्षबीच आदानप्रदान भइसकेको छ । ‘भारतसँग सीमा विवाद, हवाई रुट र व्यापार असन्तुलन जस्ता केही गम्भीर र जटिल विषयमा छलफल गर्नुपर्नेछ । यी सबै विषयमा दसैंपछि छलफल हुनेछ,’ तीमध्ये एक अधिकारीले भने ।
भारतका लागि नेपालका पूर्वराजदूत शंकर शर्माले द काठमान्डु पोस्टलाई बताएअनुसार केही परियोजना उद्घाटनका लागि तयारी अवस्थामा छन् भने अन्य केही परियोजना निर्माण सुरु हुने चरणमा छन् । भ्रमणका क्रममा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सम्भावनासमेत रहेको शर्माले बताए ।
काभ्रेपलाञ्चोकको पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, दार्चुलाको एउटा पुल, भैरहवास्थित एकीकृत जाँच चौकी र महाकाली नदीमाथिको पक्की पुल काम सकिएर उद्घाटनको पर्खाइमा छन् ।
दुवै प्रधानमन्त्रीले केही परियोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने अपेक्षा पनि गरिएको छ । तिनमा दोधारा–चाँदनीस्थित एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र सिलिगुडी–झापासम्म पेट्रोलियम पाइपलाइन छन् । उद्घाटन तथा शिलान्यासका लागि प्रस्तावित यी परियोजनामा भारतको लगानी छ ।
अधिकांश द्विपक्षीय संयन्त्रका बैठक सम्पन्न भइसकेकाले केही ठूला जलविद्युत् परियोजनालाई पनि प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा समावेश गर्ने गरी अधिकारीहरूले अध्ययन गरिरहेका छन् । जसमा ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना छन् । भारतको सरकारी स्वामित्वमा रहेको एनएचपीसी यी तीनवटै आयोजनामा संलग्न छ ।
नेपालले १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि पुनर्निर्माण र पुनःस्थापनाका लागि भारतसँग अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोगका लागि आग्रह गरिसकेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले यसअघि नै भारत भ्रमण गरेर बाढीपछिको पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल गरिसकेका छन् ।
सरकारी अधिकारीहरू सीमा विवाद, नेपालका लागि थप हवाई प्रवेश बिन्दु, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तथा व्यापार र पारवहनलगायतका विवादित र लामो समयदेखि थाती रहेका विषयमा पनि भारतसँग सहमति जुटाउने प्रयासमा छन् ।



2026-10-07-01-32-59.jpeg)



प्रतिकृया दिनुहोस