• २०८३ कार्तिक १२ बिहीबार
  • Thursday, 29 October, 2026

एनपीएलः १७ वर्षीय राहुल चम्किँदा काठमाण्डु गाेर्खाज पराजित

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हासिल गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोखार्जलाई आठ विकेटले हराएको छ। यसअघि जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौंले भने हारबाट एनपीएलको सुरुवात गरेको छ। 

काठमाडौंले दिएको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि मोइन अली र सैफ हसनले ७९ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो। 

मोइन ५१ बलमा तीन चौका र तीन छक्का सहयोगमा ५८ रनमा अविजित रहे। सैफ ३९ बलमा एक चौका र तीन छक्का हान्दै ४० रनमा नटआउट रहे। 

ओपनर तृतराज दास पाँच रनमा क्याच आउट भए। मयन यादव नौ रनमा रन आउट भए। 

काठमाडौंका लागि रिपोन मण्डन एक विकेट लिए। 

त्यसअघि १७ वर्षीय युवा राहुल यादव चम्किँदा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ११५ रनमा अलआउट गरेको थियाे।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो। काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा राहुलले चार विकेट लिए।

राहुलले चार ओभरमा ३१ रन खर्चिए। उनले काठमाण्डुका साम हिजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे। जनकपुरका सैफ हसनले दुई तथा मोइन अली, हरमित सिंह र ललित राजवंशीले एक-एक विकेट लिए।

काठमाण्डुका भिम शार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। रासिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। कप्तान करण केसीले १८ बलमा आठ रन मात्र जोड्न सके।

काठमाण्डुले पावरप्लेमा तीन विकेट गुमाएको थियो। त्यसपछि पनि लगातार विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो। अन्तिम पाँच ओभरमा काठमाण्डुले पाँच विकेट गुमाउँदै २३ रन मात्र जोड्यो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर