जापानका लागि सिफारिस राजदूतबारे १६ कात्तिकमा निर्णय हुने, थप दबाब नआए अस्वीकृत गर्ने तयारी
काठमाडौं । पीआरलगायतका विवादका कारण हाेल्डमा राखिएका जापानका लागि राजदूतमा सिफारिस जिज्ञानकुमार थापाबारे कात्तिक १६ गते निर्णय हुने भएकाे छ।
सुनुवाइ समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको सुनुवाइ सम्पन्न गरेको भए पनि निर्णय गर्न बाँकी छ।
कात्तिक १९ गतेसम्म समितिले थापाबारे निर्णय गरिसक्नुपर्नेछ। अन्यथा थापालाई राजदूत नियुक्ति गर्न सरकारलाई बाटो खुल्छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावलीले संसदीय सुनुवाइ समितिले नाम प्राप्त भएको ४५ दिनभित्र सुनुवाइ सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ।
यदि ४५ दिनभित्र समितिले निर्णय नगरे सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न सक्छ। तर समितिले आफ्नाे अधिकार प्रयाेग गरेर अनुमाेदन वा फेल गर्ने समय नघर्काउने सभापतिले बताएका छन् ।
जिज्ञानकुमार थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा समितिका सांसदहरू एकमत भएका छैनन्।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रस्तावमा थापाको नाम होल्डमा राखिएको हो। समितिले यस अघि नै थापालाई अस्वीकृत गर्ने तयारी गरेकाे थियाे तर बुर्लाकाेटी मार्फत सभामुख डीपी अर्यालले दबाब दिएका कारण हाेल्डमा राखिएकाे हाे। थापा सभामुख अर्यालका पुराना साथी हुन् । सभामुख अर्याल पनि कुनै बेला जापानमा काम गर्दथे। हाल उनकाे व्यापार जापानमा रहेकाे श्राेतकाे दावी छ ।
समितिले १६ गते अथवा १७ गतेको बैठकबाट उनको नामबारे निर्णय लिने तयारी गरिरहेको छ।
समितिका सभापति बाेधनारायण श्रेष्ठसहित रास्वपाका सांसदहरुदीपक बाेहरा राजीव खत्रीलगायत थापालाई अनुमाेदन गर्न नहुने पक्षमा छन् । विपक्षी दलका नेताहरुले पनि कसैकाे दबाबमा परेर जापानकाे पीआर लिएकाे व्यक्तिलाई देशकाे कुटनीतिक जिम्मा दिन नहुने बताएका छन् ।







प्रतिकृया दिनुहोस