• २०८३ कार्तिक १३ शुक्रबार
  • Friday, 30 October, 2026

बाबुरामले भनेः राज्यका संवेदनशील अंग नै बिचाैलियासँग जाेडिनु बिडम्बनापूर्ण

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्बनापूर्ण भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उन्नत लोकतन्त्रमा कोही पनि कानुन र सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने बताएका छन् ।

'अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकतासम्बन्धी विषयमा विवादमा तानिनु बिडम्बनापूर्ण छ । उन्नत लोकतन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन, शक्तिका आधारमा कानुन र सामाजिक मर्यादाभन्दा माथि हुनसक्दैन,' उनले लेखेका छन् ।

अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको उल्लेख गर्दै भट्टराईले राज्यका विभिन्न अंगमा रहेका विकृति र विसंगति अन्त्य नगरी सुशासन स्थापना गर्न नसकिने बताएका छन् ।

'त्यसमाथि अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, 'उपियाँ-उँडुस'बाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न । सुशासनको प्रत्याभूति नगरी समृद्धिको मार्गमा अघि बढ्न सकिन्नँ,' उनले भनेका छन् ।

सबैलाई एकैसाथ निशाना बनाउँदा दोषी उम्कन सक्ने जोखिमतर्फ पनि उनले संकेत गरेका छन् । 'परन्तु सबै 'चरा'माथि एकैसाथ निसाना साध्दा कुनै पनि 'चरा' नमर्ने खतरा हुन्छ! अनि लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले पनि गर्नैपर्छ,' भट्टराईले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर