मध्यरातमा प्रहरीको विज्ञप्ती: 'पत्रकार पक्राउ गर्नु सही थियाे'
काठमाडाैं। नेपाल प्रहरीले केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइनु कुनै गलत काम नभएको जिकिर गरेको छ।
शुक्रबार साँझ सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्रेर छाडेपछि नेपाल प्रहरीले मध्यराति वक्तव्य जारी गरी ‘समाचारको सत्यताबारे सामान्य जानकारी लिने उद्देश्यले साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाउनु सही’ भएको जिद्दी गरेको हो।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेले शुक्रबार राति १:४० बजे ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो।’
पत्रकार पक्रिनु गलत नभएको जिकिर गर्दै नेपाल प्रहरीले अगाडि भनेको छ, ‘यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने बेहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ।’
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।
यस्तै पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग अढाई घण्टा गलफती गरेको थियो।
पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले यसमा प्रधानमन्त्रीको कार्यालय तथा सचिवालयको कुनै संलग्नता र सूचना नरहेको दाबी गरेको थियो।
त्यसपछि सबै पत्रकार रिहा गरेको नेपाल प्रहरीले ‘आफ्नो कार्यसम्पादनअन्तर्गतको सही कदम’ भएको जिकिर गर्दै वक्तव्य जारी गरेको हो।
यस प्रकरणमा गृहमन्त्री सुधन गुरुङ भने माैन छन्।







प्रतिकृया दिनुहोस