प्रधानमन्त्री कार्यालयकै चासाेपछि पत्रकार पक्राउ– प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोपछि 'पत्रकारहरुलाई प्रहरी कार्यालयमा बोलाएको' स्पष्टीकरण दिएको छ ।
शुक्रबार अपराह्न सादा पोसाकमा पुगेका प्रहरीले नेपाल प्रेस डटकमबाट विश्वमणि सुवेदी, मोटिभेटन्युज डटकमका सम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकको कार्यालयमा पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन तीन घण्टासम्म प्रयास गरेका थिए ।
त्यसबारे सबैतिर व्यापक आलोचना भएपछि शुक्रबार राति नै नेपाल प्रहरीले यसबारे स्पष्टीकरण दिएको हो । ‘हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले शनिबार राति १ : ४० बजे पत्रकारहरूलाई सूचना दिने नेपाल प्रहरीको आधिकारिक ह्वाट्सएप ग्रुपमा राखेको सूचनामा भनिएको छ, ‘यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ ।’
तर प्रधानमन्त्री कार्यालयले भने पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको दाबी गरेको छ । ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ पत्रकार पक्राउको घटना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाहकी सञ्चार विज्ञ दीपा दाहालले जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ।’
पत्रकार पक्राउ गर्ने कदमको स्वयं सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विरोध गरेको छ । प्रहरीले भने प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावना राख्ने बताएको छ । प्रवक्ता काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावना राख्ने तथा प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ।’







प्रतिकृया दिनुहोस