• २०८३ कार्तिक १६ सोमबार
  • Monday, 2 November, 2026

यथाशीघ्र संसद् बैठक आह्वान गर्न विपक्षीकाे माग

काठमाडौं । विपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । 

सोमबर कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग उनले न्यायालयमा बिचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्रसङ्गलगायत विषयमा संसद्‌मा गम्भीर छलफल आवश्यक रहेको र यथाशीघ्र संसद् आह्वान गर्न माग गरिएको बताए । उनले सर्वोच्च अदालतका न्यायाधीशसँग बिचौलियाको साँठगाँठलगायत विषय गम्भीर रहेको र यी विषयमा सतही चर्चा गर्नुभन्दा संसद्‍बाटै समाधान खोज्नुपर्ने बताए ।

उनले सरकारले अध्यादेशमार्फत नै सत्ता सञ्चालन गर्न खोज्दा संसद्‌को औचित्य र गरिमामाथि प्रश्न उठ्न थालेको टिप्पणी पनि गरे । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित नागरिकले राहत तथा घरभाडासमेत नपाएको गुनासो आएकाले यी विषयमा संसदमा छलफल गर्नुपर्ने उनको भनाइ छ । नेता आङ्देम्बेले सुनसरी र कप्तानगञ्जका घटनाबारे गठित समितिको अवस्था तथा प्रतिवेदनहरू सार्वजनिक गर्न समेत माग गरे ।

उनले भने, ‘बैठकमा खासगरी अहिले जुन ढङ्गबाट न्यायलय समेत जोडेर बिचौलियासँग सम्बन्धित कुराहरू आएको छ यसबारे गम्भीर रुपमा छलफल भएको छ । अर्को प्रहरीको स्वयं प्रधानमन्त्रीसँग जोडिएर विषयहरू आएका छन् यी सबै कुरामा व्यापक रुपमा छलफल भएको छ । यी सबै विषयमा सतहमा बढी चर्चा परिचर्चा हुनुभन्दा पनि यसलाई संस्थागत रूपमा संसद्‌बाटै यसको समाधान र निदान खोज्नुपर्छ । हामीले त्यसको लागि तुरुन्त संसद्‌को बैठक आह्वान गर्न सरकारसँग माग गरेका छौं । अर्को, सुनसरी, कप्तानगञ्जलगायतका जिल्लामा भएका घटनामा बनाएका समितिहरूको प्रतिवेदन र विषय समेत अहिलेसम्म हामीलाई थाहा छैन । रसुवा भोटेकोशी बाढीले सिर्जना गरेको जुन खालको कहालीलाग्दो परिस्थिति छ त्यहाँबाट विस्थापित भएको पीडितहरूलाई राज्यले दिनुपर्ने राहतहरू अहिले पनि नपाएको, घरबाहालहरू नपाएको गुनासो समेत आइरहेका छन् । यी विषयमा गहन छलफल आवश्यक छ ।’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर