• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

ओलीलाई पेरिसडाँडाबाट प्रचण्डकाे आव्हानः अब एकता गराैं

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)  का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर सङ्कटमा परेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा आउन आह्वान गरेका छन्।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतमा सहकार्य गरेका सबै शीर्ष वामपन्थी नेताहरूलाई यस्तो अपिल गरेका हुन्।

एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्य लगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश सङ्कटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ।’

सम्बोधनका क्रममा प्रचण्डले विगतका एकता प्रयासहरूको स्मरण गर्दै आफूले शान्ति प्रक्रियामा आएदेखि नै तत्कालीन नेकपा एमालेसँग एकताका लागि पटक–पटक पहल गरेको बताए। संविधान जारी भएपछि जनताले कम्युनिस्टहरूबाट ठुलो अपेक्षा गरेकाले आफू फेरि एकताको प्रस्ताव लिएर केपी शर्मा ओलीकहाँ पुगेको उनले स्मरण गरे।

‘सजिलैसँग एकता नहुने देखेपछि मैले तपाईं नै प्रधानमन्त्री बन्नोस् भनेको थिएँ’, प्रचण्डले विगत सम्झिँदै भने, ‘त्यसपछि तत्काल चुनावी कार्यगत एकता र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति भयो। निर्वाचनमा हामीले झण्डै दुई–तिहाइ मत पनि प्राप्त गर्‍यौँ।’

उनले निर्वाचनमा प्राप्त त्यो जनमत देशमा सुशासन र समाजवादको आधार तयार पार्ने ‘गोल्डेन अवसर’ भए पनि दुर्भाग्यवश त्यसलाई जोगाउन नसकिएको स्वीकार गरे।

विगतको एकता असफल भए पनि त्यसबाट निराश नभई पाठ सिक्नुपर्ने बताउँदै प्रचण्डले देश र जनताको हितका लागि पुनः एकता र ध्रुवीकरणको पहल थालिएको बताए। उनले अहिलेको सहकार्य त्यसैको सुरुआत भएको स्पष्ट पारे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर