• २०८३ मङ्सिर २ बुधबार
  • Wednesday, 18 November, 2026

जुनसुकै बेला आन्दोलन तयारी गर्ने ओलीकाे निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने परिस्थिति आउन सक्ने बताए ।

आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नपर्ने उल्लेख गर्दै उनले असह्य अवस्था सिर्जना भएपछि तत्काल आन्दोलनमा उत्रिनुपर्ने हुन सक्ने बताए ।

आतंकपूर्ण वातावरण र गतिविधिका कारण आफूहरू पछाडि धकेलिएको भए पनि त्यस्तो अवस्था सधैँ कायम नरहने ओलीको भनाइ थियो । आत्मविश्वास र मनोबलका साथ अघि बढ्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

चुनावमार्फत पार्टी निर्माण गर्न खोज्नेहरूलाई आगामी निर्वाचनमा पार्टीकै शक्तिका आधारमा पराजित गर्ने दाबीसमेत ओलीले गरे ।

उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति पनि असन्तुष्टि जनाए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले अहिलेसम्म फैसला गर्न नसकेको भन्दै उनले न्याय ढिलो प्राप्त हुनु न्याय नपाउनु सरह भएको टिप्पणी गरे ।

‘अघिपछि हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिलेसम्म फैसला गर्न सकेको छैन,’ ओलीले भने । अदालतबारे धेरै बोल्दा आफूमाथि मानहानिको मुद्दा लाग्न सक्ने भन्दै उनले यस विषयमा थप टिप्पणी नगर्ने बताए ।

ओलीले आगामी दिनमा जनताको घरदैलोमा पुग्न, किसान तथा सर्वसाधारणसँग संवाद गर्न र पार्टीलाई थप सशक्त बनाउन पनि नेता–कार्यकर्तालाई निर्देशन दिए। एमाले देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर