मधेश सरकार गठनमा लफडाः तीन दलले मागे थप समय

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिँदासमेत दलहरूबीच सहमति जुट्न सकेको छैन । मधेस प्रदेशमा सरकार गठनका लागि समय घर्किएपछि तीन दलले समय थप्न प्रदेश प्रमुख समक्ष आग्रह गरेका छन्।

कांग्रेस, एमाले र नेकपाका संसदीय दलका नेता प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाल कर्णसँग भेटेर समय थप्न आग्रह गरेका हुन्।

प्रदेश प्रमुख कर्णले संविधानको धारा १६४ को २ बमोजिम सरकार गठनका लागि तोकेको समयसीमा शुक्रबार ४ बजे सकिएको छ।

कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख समक्ष संविधानको धारा १६४ को दुई बमोजिम नै केही समय थप्न आग्रह गरिएको बताए।

सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनले औपचारिक दाबी पेस गरेका छैनन् ।

नेकपा (एमाले)सहितको गठबन्धनबाट सरकारको नेतृत्व गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल अनिच्छुक देखिएपछि दलहरूबीचको समीकरणले अन्तिम रूप लिन नसकेको हो ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा छन् तर, नेपाली कांग्रेसले उनको नेतृत्व स्वीकार गरिसकेको छैन ।

उता जसपा नेपालले अग्रगामी मोर्चाको समीकरणअनुसार जनमत पार्टी र नेपाली कांग्रेसलाई समेत समेटेर सरकार गठन गर्ने प्रयास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर