• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

भारतकाे स्वागतः बालेनलाई राज्यमन्त्री, गिरिजाप्रसादलाई प्रधानमन्त्री 

काठमाडौँ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यतालिका तय भएको छ ।

नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणका क्रममा दिल्ली विमानस्थलमा स्वागत गर्ने भारतीय अधिकारीहरूको तह र मर्यादा विगतदेखि नै चर्चाको विषय बन्दै आएको छ । वि‍सं २०६२÷६३ को जनआन्दोलनपछिको इतिहासलाई फर्केर हेर्दा एक पटक बाहेक प्रायः भारतीय मन्त्री वा राज्यमन्त्रीले नै नेपाली प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गर्ने गरेका छन् ।

जनआन्दोलनपछि २०६३ जेठमा भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न भारतीय समकक्षी मनमोहन सिंह आफैँ विमानस्थल पुगेका थिए । तत्कालीन समयमा कोइराला कार्यवाहक राष्ट्रप्रमुखसमेतको भूमिकामा रहेकाले भारतीय प्रधानमन्त्री सिंह स्वयं विमानस्थल पुगेर उच्च सम्मान दिएका थिए । २०६२÷६३ यता भारतीय प्रधानमन्त्री नै विमानस्थलमा स्वागत गर्न पुगेको त्यो एकमात्र ऐतिहासिक घटना हो ।

त्यसयताका भ्रमणहरूमा भने भारतले क्याबिनेट मन्त्री वा राज्यमन्त्रीलाई पठाउने अभ्यासलाई निरन्तरता दिएको छ ।  २०६५ भदौ र २०७३ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाँदा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज लगायतका उच्च अधिकारीले स्वागत गरेका थिए भने २०८० जेठको तेस्रो कार्यकालको भ्रमणमा विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

त्यसैगरी, वि.सं. २०६६ भदौमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र २०६८ कात्तिकमा डा बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा भारत सरकारका विदेश राज्यमन्त्री तहका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

केपी शर्मा ओलीको हकमा भने दुवै कार्यकालमा भारतका शक्तिशाली क्याबिनेट मन्त्रीहरू विमानस्थल पुगेका थिए । २०७२ फागुनको भ्रमणमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज र २०७४ चैतको दोस्रो कार्यकालको भ्रमणमा तत्कालीन गृहमन्त्री राजनाथ सिंहले ओलीलाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

यसैगरी, शेरबहादुर देउवालाई २०७४ भदौको भ्रमणमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् भने २०७८ चैतको पाँचौँ कार्यकालको भ्रमणमा पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गरेका थिए ।

सोही निरन्तरतास्वरूप आज दिउँसो ३ः४५ बजे नयाँदिल्ली अवतरण गर्ने प्रधानमन्त्री शाहलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्न लागेका हुन् । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहितको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै दिल्ली जान लागेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट र समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरी मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर