गान्धीकाे समाधिस्थलमा बालेनले लेखेः 'सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धता'
काठमाडाैं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा उनले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको साझा यात्रालाई सधैं उज्यालो बनाइरहने विश्वाससमेत व्यक्त गरेका छन् ।
'उहाँले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा सम्माननीय प्रधानमन्त्री शाह भारत भ्रमणमा पुग्नु भएको हो,' बालेनकाे सचिवालयले भनेकाे छ ।
प्रधानमन्त्री शाहले नेपालका जनता र सरकारका तर्फबाट गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको जीवनले सत्यमा कुनै पनि शक्तिभन्दा अतुलनीय सामर्थ्य हुने प्रमाणित गरेको उल्लेख गरेका छन् ।
भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको बताएका छन् । ‘करुणा नै सर्वोच्च शक्ति हो र साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवा गर्नु हो,’ उनले लेखेका छन् ।
नेपाल र भारत साझा भूगोलले मात्रै नभई आस्था, आत्मीयता र अटुट मित्रताको शाश्वत विरासतले जोडिएको उल्लेख गर्दै शाहले दुई देशबीचको सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन् ।
दुई दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले यसअघि राष्ट्रपति भवनमा गार्ड अफ अनर लिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् । त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए ।






प्रतिकृया दिनुहोस