यी हुन् नेपाल–भारतबीचका ८ समझदारी
काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, भूउपग्रह सञ्चार र सहरी विकासलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।
समझदारीपत्रमध्ये एउटा गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि समझदारी भएको छ ।
नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि समझदारी भएको छ । यसमा भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान सहभागी छन् ।
अन्य समझदारी आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा रहेका छन् ।
नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ ।
यी आठवटै समझदारीले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्य र संस्थागत साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्य राखेका छन् ।
यसअघि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालतर्फ दार्चुला र भारततर्फ धार्चुला जोड्ने मोटर चल्ने पुल तथा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको उद्घाटन गरेका थिए ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित भर्चुअल समारोहमा दुई नेताले तीनवटा परियोजनाको शिलान्यास पनि गरेका थिए । शिलान्यास गरिएका परियोजनामा भारतको उत्तराखण्डस्थित बनबासामा एकीकृत जाँच चौकी, झापामा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण केन्द्र र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना छन् ।
त्यसैगरी, दुई नेताले नेपालस्थित जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्ट स्टेसन जोड्ने नयाँ यात्रुवाहक रेल सेवा 'सरयू–कमला एक्सप्रेस' को पनि भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
फरेन्सिक विज्ञानसम्बन्धी शैक्षिक तथा अनुसन्धान सहकार्य : भारतको गुजरातस्थित गान्धीनगरको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी ।
नेपाल-भारत ८ समझदारी
प्रहरीसम्बन्धी सहकार्य : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (राष्ट्रिय रक्षा विश्वविद्यालय) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच समझदारी ।
निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम : नेपालका निजामती कर्मचारीका लागि क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी ।
आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली : आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा सहकार्य गर्न भारत र नेपाल सरकारबीच समझदारी ।
भूउपग्रह सञ्चार सञ्जाल स्थापना : दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार (स्याटकम) सञ्जाल स्थापना गर्न भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी ।
दिगो सहरी विकास : दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्न भारत र नेपाल सरकारबीच समझदारी ।
स्वास्थ्य तथा औषधि : स्वास्थ्य तथा औषधिका क्षेत्रमा सहकार्य गर्न भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समझदारी ।
पशुपन्छी तथा मत्स्य विकास : पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्न भारत र नेपाल सरकारबीच समझदारी ।




2026-11-23-12-01-28.jpeg)

प्रतिकृया दिनुहोस