संसद अधिवेशन बोलाउन हतार भईसक्यो, अध्यादेशको तयारीमा सरकार
काठमाडौं । सरकारले अझै केही अध्यादेश ल्याएर मात्रै संघीय संसद्को हिउँदे (विधेयक) अधिवेशन बोलाउने तयारी गरेको छ । यही २३–२४ मंसिरमा काठमाडौंमा हुन लागेको पूर्वाधार सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश ल्याउन लागेको हो ।
संसद् अधिवेशन बोलाउनेबारे सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग परामर्श गरेका थिए ।
कानुनमन्त्री गौतमले पूर्वाधार सम्मेलनलाई सहजीकरण गर्न अत्यावश्यक कानुन मात्र अध्यादेशमार्फत ल्याउन लागिएको बताइन् । ‘पूर्वाधार सम्मेलनमा सोकेस गर्ने आयोजना अगाडि बढाउन कति कानुनले बाधा पुर्याउँछ भनेर अध्ययन गरिरहेका छौं । त्यस्ता व्यवस्था अध्यादेशमार्फत संशोधन गर्छौं,’ मन्त्री गौतमले भनिन्, ‘त्यसपछि संसद् अधिवेशन बोलाउने सरकारको तयारी छ ।’
संघीय संसद्को बजेट अधिवेशन १६ असोजमा अन्त्य भएको थियो । त्यसयता सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ८ अध्यादेश सिफारिस गरेकामा पाँच वटा मात्र जारी भएका छन् । यसबीचमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएका छन् ।
सरकारले सिफारिस गरेका प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष विचाराधीन छ । मन्त्रिपरिषद्को ४ मंसिरको बैठकले सिफारिस गरेको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि राष्ट्रपति कार्यालयले जारी गरेको छैन ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले कानुन निर्माणका लागि नै संसद् भएकाले अधिवेशन बोलाएर अगाडि बढ्नुपर्ने बताए । संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे सरकारले विपक्षी दलहरूसँग छलफल नगरेको पनि उनको भनाइ छ ।
पूर्वाधार सम्मेलनका लागि ५९ ऐन संशोधनको तयारी भइरहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए ।
सरकारले लगानी सम्मेलन गर्न लागेको र त्यसका लागि अध्यादेश ल्याउनुपर्ने आवश्यकता रहेको भन्नेबारे प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै छलफल नगरेको नेता आङ्देम्बेले बताए ।
संसद् अधिवेशन बोलाएर न्यायालय शुद्धीकरणको प्रक्रिया अगाडि बढाउनुपर्ने कतिपय मन्त्री र रास्वपा नेताहरूको भनाइ छ । रास्वपाको १४ कात्तिकमा बसेको सचिवालय बैठकले न्यायालय शुद्धीकरणका लागि निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको थियो ।







प्रतिकृया दिनुहोस