• २०८३ मङ्सिर ८ मंगलबार
  • Tuesday, 24 November, 2026

देउवालाई गगनको चुनौतीः आफ्नो स्तर मेन्टेन गर्नुस्

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादा कायम राख्न आग्रह गरेका छन्।

उनले देउवा पार्टीका अभिभावक र वरिष्ठ नेता भएकाले उनको अभिव्यक्ति पनि सोहीअनुसार हुनुपर्ने बताए।

देउवाकै सभापतित्वमा आफूहरूले पार्टीको कार्यसमितिमा काम गरेको स्मरण गर्दै थापाले राजनीतिक विषयमा असहमति हुनु स्वाभाविक भए पनि त्यसलाई मर्यादित ढंगले व्यक्त गर्नुपर्ने बताए।

विशेष परिस्थितिमा विधानअनुसार विशेष महाधिवेशन गरिएको उल्लेख गर्दै उनले कसले के भन्यो भन्नेभन्दा पनि देउवाजस्तो वरिष्ठ नेताले आफ्नो राजनीतिक उचाइअनुसार बोल्नुपर्नेमा जोड दिएका छन्।

सभापति थापाले आज केन्द्रीय समिति बैठकमा बोल्दै जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो भनेर सोध्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको एक भिडियो आफूले हेरेको प्रसंगसमेत सुनाए।

'त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ। असहमति पनि राजनीतिक हुनुपर्छ। सीमा र मर्यादाभित्र हुनुपर्छ,' उनले भनेका छन्।

देउवाले विभिन्न सार्वजनिक मञ्चबाट दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले आफूले गुनासो नभई देउवाप्रति प्रेम र चिन्ताका कारण सुझाव दिएको स्पष्ट पारेका छन्।

'उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस्। तपाईंले आफ्नो लेबल मेन्टेन गर्नुस्,' उनले भनेका छन्, ‘तपाईं कांग्रेस सभापति, पाँच पटक प्रधानमन्त्री भएको नेता हो, त्यसलाई मेन्टेन गर्नुस्, यो कुरा मैले प्रेम र स्नेहसाथ भनेको हुँ।’

अदालतमा चलखेल भएको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि थापाले प्रश्न उठाए। अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न आग्रह गर्दै उनले राजनीतिक विषयमा मर्यादित अभिव्यक्ति दिन देउवालाई सुझाव दिएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर