• २०८३ मङ्सिर १३ आइतबार
  • Sunday, 29 November, 2026

२ महिना भित्र चीन जाँदै प्रधानमन्त्री बालेन

काठमाडौं । भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारी सुरु भएको छ। प्रधानमन्त्री शाहको चीन भ्रमण फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै हुने सम्भावना छ।

परराष्ट्र मन्त्रालयका अधिकारी र मन्त्रीहरूले बेइजिङले प्रस्ताव गर्ने मितिअनुसार भ्रमण जनवरीमै हुन सक्ने संकेत गरेकाे कान्तिपुरले लेखेकाे छ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि लामो समय चीन बसेर फर्किएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। ती भेटमा उनले प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडै स्वागत गर्न चीन तयार रहेको सन्देश दिएका थिए।

राजदूत माओमिङले वाग्ले, खनाल, राईलगायत अधिकारीसँगको भेटमा भ्रमणको निश्चित मिति भने प्रस्ताव गरेका थिएनन्। तर, फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै प्रधानमन्त्रीलाई स्वागत गर्न बेइजिङ तयार रहेको संकेत गरेका थिए।

भारत भ्रमण सफल भएको सरकारी अधिकारीहरूको बुझाइपछि प्रधानमन्त्री पनि चीन भ्रमणका लागि इच्छुक रहेको एक मन्त्रीले बताए। ‘हामी चिनियाँ पक्षबाट मिति आउने प्रतीक्षामा छौँ,’ ती मन्त्रीले भने।

‘चिनियाँ पक्षले हाम्रा प्रधानमन्त्रीलाई स्वागत गर्न तयार रहेको संकेत दिएको छ। हामीले उनीहरूलाई उपयुक्त मिति पहिचान गरेर प्रस्ताव गर्न भनेका छौँ। त्यसअनुसार निर्णय गरेर तयारी अघि बढाउँछौँ। प्रधानमन्त्री पनि चीन भ्रमणका लागि इच्छुक हुनुहुन्छ,’ ती मन्त्रीले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर