ए डिभिजन लिगमा मनाङ मस्र्याङदीको लगातार छैटौ जित
ललितपुर । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदीले लगातार छैटौ जित हात पारेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा बुधबार भएको खेलमा जाउलाखेललाई एक शुन्यले हराउँदै मनाङले आफ्ना अपराजित यात्रा कायमै राख्यो ।
खेलको पहिलो हाफमा मनाङले गोलरहित बराबरी खेल्यो । जारी प्रतियोगिता अपराजित एक्लो टिम मनाङले बुधबार भने जाउलाखेल विरुद्ध खासै राम्रो खेल्न सकेन । पहिलो हाफमा मनाङ भन्दा केहि राम्रो फुटबल खेलेको जाउलाखेल दोस्रो हाफमा भने केहि खस्कन पुग्यो ।
जसको फाइदा मनाङले लियो ।
खेलको ६० औं मिनेटमा मनाङका अफिज ओलाओलेलाई डिबक्समा लडाएपछि मनाङले पेनाल्टीको अवसर पायो । जसलाई अञ्जन विष्टले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए ।
७४ औं मिनेटमा मनाङले अर्को गोलको अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन ।
खेलको अन्तिममा जाउलाखेलले गरेको आक्रमणलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाए । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जाउलाखेलको अर्को प्रहारलाई मनाङका डिफेन्डरले बचाए ।
जितसँगै मनाङले ६ खेलबाट १८ अंक बनाउदै लिगको शिर्ष स्थानमा कायमै रहेको छ । यता जाउलाखेलले प्रतियोगिामा चौथो हार ब्यहोर्न बाध्य भयो ।
प्रतिकृया दिनुहोस