आखिर किन भयो नेपालमा ठूला दरका भारुमाथि प्रतिबन्ध, कस्तो पर्ला असर !

काठमाडौं । नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ठूला दरका भारतीय नोटको चलनचल्तीमा प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै २ सय, ५ सय, १ हजार र २ हजारका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको बताए ।

सरकारले यी नोटहरु प्रयोगमा ल्याउन र साथमा राख्नसमेत गैरकानुनी हुने बताएको छ । सरकारले नोट चलनचल्तीमा ल्याउन प्रतिबन्ध लगाए पनि प्रतिबन्ध लगाउनुको कारण भने उल्लेख गरेको छैन् । सरकारले एक्कासी यी नोटमा प्रतिबन्ध लगाउँदा भारतीय सीमाका बासिन्दा समस्यामा परेका छन् । दैनिक उपभोग्य सामग्री खरिदका लागि भारतीय बजारमा जानुपर्ने बाध्यता रहेका सीमाबासी पीडामा परेका छन् । भारुको सञ्चित गरेका सीमाबासीले सरकारले भारु राख्नसमेत गैरकानुनी हुने निर्णय गरेपछि समस्या परेको गुनासो बढेको छ । 

अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले ठूला दरका भारतीय रुपैयाँ लगाइएको प्रतिबन्धले नेपालीलाई केही मात्रामा असर पर्ने बताएका छन् । समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘नोट चलनचल्तिमा लगाइएको प्रतिबन्धले अवस्य पनि केही मात्रामा समस्या पार्छ नै । त्यसमा खुला सीमानाका कारण पनि सीमावर्ती क्षेत्रका जनता प्रभावित हुन्छन् ।’ नोटमा गरिएको प्रतिबन्धले केही समयका लागि असर पार्ने देखिए पनि दीर्घकालिन रुपमा नेपाललाई नोक्सान हुनबाट जोगाउने उनले बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका अर्थविद् क्षेत्रीले भारतीय नीति फेरबदल भएमा त्यसको असर नेपालमा पर्ने भएकाले पनि सरकारले ठूला दरका भारतीय नोट प्रयोगमा रोक लगाएको हुनसक्ने भनाई व्यक्त गरे । 

भारतले सन् २०१६ को नोभेम्बर ८ मा लागू गरेको नोटबन्दीपछि नयाँ नोट चलनचल्तीमा ल्याएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन नियन्त्रण गर्ने भन्दै ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाए । भारुमा प्रतिबन्ध लगाएको दुई वर्ष बितिसक्दा पनि नेपालसँग भएका भारु सटही हुन सकेका छैनन् । भारु सटहीका लागि नेपाल सरकारका कैयौं प्रयास असफल भए ।

हालसम्म पनि नेपाल बैंकिङ प्रणाली ७ करोडभन्दा बढी भारतीय रुपैयाँ रहेको बताइन्छ र ती अहिले मूल्यहीन अवस्थामा रहेका छन् । यसैगरी भविष्यमा पनि भारतले आफ्नो नीतिमा परिवर्तन गरे नेपाल प्रत्यक्ष प्रभावित हुने भएकाले सरकारले यो कदम चालेको हुनसक्ने उनको भनाई छ । 

यता, विश्लेषक हरि रोकाले अन्य विदेशीे मुद्रा स्वदेशी मुद्रा सरह चलन गर्न नहुने बताएका छन् । अन्य देशको मुद्रालाई प्राथमिकता दिँदा आफ्नो देशको मुल्य प्रभावहीन बन्ने उनले जिकिर गरे । 

उनले भारतीय रुपैयाँ नेपालमा प्रयोग गर्दा के कति प्रयोगमा छ भन्ने पनि थाहा पाउन नसकिने हुँदा मुद्रास्फिति नियन्त्रण गर्न पनि समस्या हुने बताएका छन् । विगतमा पनि नेपालले ५ सय र एक हजारका नोट प्रचलनमा रोक लगाएको उनको भनाई छ ।

वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा गर्भनर हुँदा विगतमा चलनचल्तीमा रोक लगाइएको भारु खुल्ला गरिएको स्मरण गर्दै उनले सरकारको अहिले भारु प्रतिबन्ध कदम नेपालको हितमा रहेको बताए । तत्काललाई केही असर देखिए पनि भविष्यमा हुनसक्ने जोखिम कम गर्ने उनको भनाई छ ।

छुटाउनु भयो कि

नेपालले भारतीय नोटबन्दी गर्नुमा यस्तो छ बीबीसी हिन्दीको तर्क

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर