आत्मदाहबाट ३५ वर्षीय ज्योती चौधरीको मृत्यु  

धनगढी । आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७, का ३५ वर्षीय ज्योती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना शनिबार बेलुकीको हो । शरीरको करिब ६० प्रतिशत भाग जलेको गम्भीर अवस्थामा उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पतालले थप उपचारका लागि साउन १० गते बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा रेफर गरेको थियो।

आफन्तले भेरी अस्पताल नलगी थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा धादिङमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घाइते चौधरीलाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा धादिङमा हिजो बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले जानकारी दिए ।

प्रहरी निरीक्षक बिष्टका अनुसार शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। आत्मदाह प्रयासको कारण खुल्न बाँकी रहेको बिष्टले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर