नेपालमा मल नपाएपछि भारत गएका दाजुभाइ ३८ दिन जेल बसेर फर्किए
जनकपुरधाम । मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर आइपुगेका छन् । भारतको सीतामढी जिल्लास्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरु नेपाल आइपुगेका हुन् ।
सर्लाहीको बलरा नगरपालिका–५ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंह दाजुभाइ १७ असारमा पक्राउ परेका थिए । उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा गएका थिए । २ बोरा युरिया र ६ बोरा डीएपी मल साइकलमा राखेर घर फर्किंदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढीको डुमरास्थित कारागार चलान गरिएको थियो ।
मल ल्याउने क्रममा पक्राउ परेका सिंह दाजुभाइबारे पहिलो समाचार कान्तिपुरले प्रकाशित गरेको थियो । त्यसलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले घटनाबारे चासो देखाउँदै नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग कूटनीतिक समन्वय सुरु गरेका थिए । तर अदालती प्रक्रियाका कारण दुवैको रिहाइ लम्बिएको थियो । मन्त्री खनालले अदालती प्रक्रियाकै कारण रिहाइमा ढिला हुन गएको प्रतिक्रिया दिए ।
कारागारबाट छुटेपछि सिंह दाजुभाइले खुसी व्यक्त गरे । दाइ नागेन्द्रले एउटा जुनी पार गरेको प्रतिक्रिया दिए । ‘कहिल्यै नसोचेको कुरा भयो । अर्काको देशमा आएर जेल बस्नुपर्यो । निकै कष्ट भयो,’ उनले भने । अदालतले बुधबार रिहाको आदेश दिए पनि प्रक्रिया पूरा गर्दा शुक्रबारसम्म लागेको दाजुभाइका वकिल सञ्जयकुमार झाले जानकारी दिए । उनीहरूलाई लिन परिवार भारत पुगेको थियो ।
सिंह दाजुभाइको रिहाइका लागि भारतीय नागरिक तपेश्वर सिंह र बालेश्वर सिंह जमानत बसेका छन् । तपेश्वर र बालेश्वर नाताले नागेन्द्रका सम्धी हुन् । उनीहरूले दुवैका लागि १०/१० हजार भारु बराबरको जग्गा धरौटी राखिदिएका छन् । अब सिंह दाजुभाइले तारिखका लागि अदालत आउनुपर्ने हुन्छ ।
नेपालसँग सिमाना जोडिएका मधेशका जिल्लाहरूमा खेतीपातीका बेला मल नपाउनु नयाँ कथा होइन । मल अभावको स्थायी नियति झेल्दै आएका सिंह दाजुभाइ आफ्नै खेतका लागि केही बोरा मल जोहो गर्न सीमापारि गएका थिए । भाइ सुरेशले भने, ‘आफ्नै बाली जोगाउन गरेको सानो प्रयासले कानुनी र मानसिक यातना भोग्नुपर्यो ।’
दाजुभाइ जेल परेपछि उनीहरूको परिवार ठूलो मानसिक तथा आर्थिक तनावबाट गुज्रियो । भारतीय अदालती प्रक्रियाको जटिलता र ढिलासुस्तीका कारण उनीहरू छिट्टै छुट्न सकेका थिएनन् । सुरेशका छोरा अभिषेकले अघिल्लो ८ साउनमा सुनुवाइका लागि अदालतमा निवेदन दर्ता गराएका थिए । तर अदालतका मुख्य न्यायाधीश बिदामा बसेको भन्दै सुनुवाइको समय सारिँदै गयो । तीन पटक समय सरेपछि २० साउनमा रिहाको आदेश भएको हो । अदालतमा सिंह दाजुभाइका तर्फबाट डुमराका वकिल सञ्जयकुमार झा र किरण चौधरीले बहस गरेका थिए । दुवै वकिलको जिकिर थियो, नेपाली किसान दाजुभाइ तस्कर होइनन् । उनीहरू सामान्य किसान हुन् ।
दिन प्रतिदिन लम्बिँदै गएको अदालती प्रक्रियाले परिवारको चिन्ता र अन्योल बढाएको थियो । अभिषेकले बुबा जेल गएपछि घरको अवस्था कष्टपूर्ण बनेको सुनाए । ‘अभिभावक नै नभएपछि घरको अवस्था कस्तो हुन्छ होला, हामी कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘लामो समयपछि उहाँहरूको रिहाइ भएको छ । हामीले ठूलो पाठ सिक्यौं । सरकारलाई योभन्दा गतिलो उदाहरण अरू केही हुन सक्दैन ।’ सिंह परिवारले अहिलेसम्म नेपालमै मल पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेको छ । कान्तिपुरबाट







प्रतिकृया दिनुहोस