• २०८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026

फिफामा ट्रम्पको अर्को हस्तक्षेपः इन्फान्टिनोलाई हटाउनु गलत हुने चेतावनी 

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व फुटबलकाे नियामक निकायमा अर्काे हस्तक्षेपकारी अभिव्यक्ति दिएका छन् ।

यस अघि विश्वकपमा फिफाकाे निर्णय नै उल्ट्याउन निर्देशन दिएका उनले अहिले अध्यक्ष फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउ नहुने पक्षमा खुलेका छन् ।

उनले यस्ताे प्रयास भए त्यो ‘ठुलो गल्ती’ हुने चेतावनी दिएका छन्।

विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई दिने योजना प्रस्तावका कारण इन्फान्टिनोको व्यापक आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन्। 

युरोपेली फुटबल महासंघ (यूईएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कोन्काकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रमुखले संयुक्त रूपमा विज्ञप्ती जारी गरी इन्फान्टिनोले विश्वासघात गरेको आरोप लगाएका छन्।

तर ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इन्फान्टिनोका पक्षमा अभिव्यक्ति दिएका हुन्।

उनले इन्फान्टिनोलाई ‘असाधारण’ व्यक्तिको संज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दाबी गरेका छन्।

“कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गरिए पनि फिफाले ठुलो गल्ती गर्नेछ”, ट्रम्पले लेखेका छन्।

गत महिना ट्रम्पले इन्फान्टिनोसँगै विश्वकपको फाइनल खेल हेरेका थिए। इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेका थिए। 

ट्रम्पको समर्थन अमेरिकी फुटबल महासंघको अडानभन्दा फरक देखिएको छ। यद्यपि अमेरिकी फुटबल महासंघ भने इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ।

इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए। तर युरोपेली फुटबल महासंघसहित विभिन्न निकायको तीव्र विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए।

यूईएफए, कोन्काकाफ र एएफसीले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्वशैलीप्रति प्रश्न उठाइएको छ। उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने बताउँदै फिफा अध्यक्षको निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छन्।

कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ। इन्फान्टिनो सन् २०२७ मार्चमा हुने फिफा कंग्रेसबाट चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा छन्। 

उम्मेदवारको नामावली आगामी नोभेम्बर १८ सम्ममा घोषणा गरिसक्नुपर्नेछ। अमेरिका, मेक्सिको र क्यानडामा भएको विश्वकप सफलतापूर्वक आयोजना गरेपछि इन्फान्टिनो निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको थियो। तर निजी लगानीसम्बन्धी योजनाले विवाद चर्काएपछि उनीविरुद्ध दबाब बढेको हो।

दश वर्षदेखि फिफाको नेतृत्वमा रहेका ५६ वर्षीय स्विस नागरिक इन्फान्टिनोले अफ्रिकी फुटबल महासंघ (सीएएफ) को समर्थन पाएका छन् भने दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले पनि उनलाई समर्थन गर्ने संकेत गरेको छ।

फिफाको निर्वाचनमा महादेशीय महासंघले नभई सदस्य राष्ट्रका फुटबल संघले मतदान गर्छन्।

इन्फान्टिनोले कोन्काकाफअन्तर्गतको मेक्सिको तथा एएफसीका सदस्य कुवेत र कतारबाट पनि समर्थन पाएका छन्।

निजी लगानीको योजनामा विवाद यूईएफएले निजी लगानीको योजना अघिबढे विश्वकप बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले उक्त योजना फिर्ता लिएका थिए।

यूईएफएले यसअघि योजनालाई ‘अपारदर्शी र गोप्य सम्झौता’ भन्दै आलोचना गरेको थियो।

सोमबार पनि यूईएफएले इन्फान्टिनोको निर्णय क्षमतामा प्रश्न उठाएको छ। गत साता मोरक्कोमा भएको आकस्मिक बैठकमा इन्फान्टिनोले फिफाका वरिष्ठ अधिकारीको समर्थन प्राप्त गरेका थिए। तर यूईएफए, कोन्काकाफ र एएफसीले उक्त समर्थनलाई पर्याप्त नभएको बताएका छन्।

उनीहरूले फिफा व्यवस्थापन समितिका सीमित सदस्य मात्र सहभागी भएको बैठकले समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन्।

इन्फान्टिनोको नेतृत्वमा विश्वकपमा टोलीको संख्या बढाएर ४८ पुर्‍याइएको छ।

महासंघले बितेको एक दशकमा फुटबलमा भएको प्रगतिलाई स्वीकार गरे पनि त्यसलाई कुनै एक व्यक्तिको उपलब्धिका रूपमा लिन नहुने बताएका छन्।

उनीहरूले फुटबलको विकास फिफा, महादेशीय महासंघ, सदस्य संघ तथा खेलमा संलग्न हजारौँ व्यक्तिको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरेका छन्। साथै फिफाको नेतृत्वमा जवाफदेहिता र पारदर्शिता कमजोर भएको आरोप लगाउँदै आफूहरू फुटबलको एकता र संस्थागत उत्तरदायित्वका पक्षमा एकजुट भएको बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर