देउवाले ३ पटक भनेः म हिन्दु हो, म हिन्दु हो, म हिन्दु हो
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको बताएका छन्।
आइतबार काठमाडौँमा कांग्रेस इतर पक्षको राष्ट्रिय भेला समापन समारोहमा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो विवाह र व्रतबन्ध पनि हिन्दु परम्पराअनुसार नै भएको सुनाए।
अहिले कसैले पनि आफूलाई हिन्दु होइन भन्न नपाउने देउवाले बताए।
‘मेरो व्रतबन्ध र विवाह पनि हिन्दु परम्पराअनुसार भएको हो। म मन्दिर जान्छु । पशुपतिनाथको पूजा गर्छु। मलाई पशुपति जाने मन छ। त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’, देउवाले भने, ‘मैले हिन्दु धर्म मान्छु भन्न पाउनुपर्छ र पाउँछु। आफ्नो धर्मका बारेमा बोल्न म स्वतन्त्र छु।’
आफू हिन्दु हुनुको अर्थ अन्य धर्मलाई निषेध गर्नु नभएको देउवाले बताए।
‘मैले हिन्दु धर्म मान्छु भन्दै गर्दा मुस्लिम वा इसाई धर्म मान्न पाइन्न भनेको छैन,’ देउवाले भने, ‘सबै धर्म मान्नेहरूलाई मैले अहिलेसम्म सम्मान गरेको छु र गरिरहनेछु। मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्नेमा म विश्वास राख्छु।’
देउवाले आफू सानैदेखि हिन्दु संस्कारमा हुर्किएको र व्यक्तिगत रूपमा त्यसलाई पालना गर्दै आएको बताए।
‘साथीहरूले यस विषयमा जिज्ञासा राख्नुभएकाले मैले प्रस्ट पारेको हुँ,’ उनले भने, ‘आफूले के धर्म मान्ने भन्नेमा प्रत्येक व्यक्ति स्वतन्त्र हुन्छन् र मेरो हकमा पनि त्यही लागु हुन्छ।’
सनातन हिन्दु राष्ट्रबारे केही बोलिदिन भनेर एक जना कार्यकर्ताले लेखेरै दिएपछि देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ। व्रतबन्ध गरेको हो, हिन्दु परम्पराअनुसार विवाह गरेको हो। पशुपति जान्छु, पूजा गर्छु। के हुने नहुने भन्ने जनताको कुरा हो। धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
उनले हिन्दु र बौद्ध धर्मलाई विज्ञान र प्रकृतिले पनि स्वीकारेको बताए।
विमानस्थलदेखि भेलासम्म आएर सद्भाव राख्नेहरूलाई आफूले कहिल्यै बिर्सन नसक्ने पनि देउवाले बताए।






प्रतिकृया दिनुहोस