गण्डकीमा पनि कांग्रेस सरकार ढाल्ने सम्भावना, एमालेका ३ मन्त्रीले दिए राजीनामा
काठमाडौं । गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वकाे सरकार ढल्ने सम्भावना बढेकाे छ । सत्ता सहकार्यमा रहेकाे नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै सरकारकाे दिनगन्ती सुरु भएकाे छ ।
एमालेबाट सहभागी चार मन्त्रीले बुधबार राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
बुधबार बसेको एमाले गण्डकी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो।
यसअघि मंगलबार बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट बाहिरिने निर्णय गरे पनि मन्त्रीहरूले तत्काल राजीनामा नदिएपछि बुधबार संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गरिएको एमालेका एक सांसदले बताए।
एमालेबाट गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे सहभागी थिए।
सबै प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमालेले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको हो।
एमाले सरकारबाट बाहिरिए पनि कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को समर्थन कायमै रहेकाले तत्काल सरकारको बहुमतमा असर नपर्ने कांग्रेस नेताहरूको दाबी छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा मनाङबाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ पदमुक्त भएपछि अहिले ५९ सांसद छन्। सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ।
गण्डकीमा कुनै पनि दलसँग एकल बहुमत छैन। नेपाली कांग्रेस २७ सिटसहित प्रदेश सभाको सबैभन्दा ठूलो दल हो भने एमालेसँग २२ सिट छ।
कांग्रेस नेतृत्वको सरकारलाई बहुमत कायम राख्न राप्रपाका दुई र नेसपाका एक सांसदको समर्थन आवश्यक पर्छ। यी दुवै दलले हालसम्म पाण्डे नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएका छैनन्।
एमालेको नेतृत्वमा सरकार गठन गर्न नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद र राप्रपाका दुई सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाबीच सत्ता सहकार्य गर्ने सहमति भए पनि राप्रपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छैन।







प्रतिकृया दिनुहोस