• २०८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026

राष्ट्रसंघ मुख्यालयमै नेपालले आयाेजना गर्याे 'सगरमाथादेखि समुद्रसम्म' कार्यक्रम

काठमाडौँ । जलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोडिएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक उच्चस्तरीय कार्यक्रममा उनले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले साझा जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए ।

भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा नेपालले भोटेकोसी बाढीसम्बन्धी छोटो भिडियोसमेत प्रस्तुत गरेको थियो । कार्यक्रमका सहआयोजकमा भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको पारिस्थितिक प्रणाली भएको बताए । ‘तपाईंहरूको साझेदारीले हिमाली, द्वीपीय र तटीय क्षेत्रका दृष्टिकोणलाई एउटै संवादमा ल्याएको छ,’ उनले भने ।

नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले गत २६ अगस्टमा लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताए । उक्त घटनालाई आफूले ‘हिमालयन सुनामी’ का रूपमा वर्णन गरेको उल्लेख गर्दै उनले भने, ‘घाउहरू अझै ताजा छन् । यस्तो अवस्थामा यो विषयमा छलफल गर्नु उपयुक्त समय हो ।’

खनालले ‘सगरमाथादेखि समुद्रसम्म’ को अवधारणा जलवायु प्रणाली राजनीतिक सीमाभन्दा पर रहेको यथार्थमा आधारित रहेको बताए । सगरमाथा तथा हिमालय क्षेत्रलाई ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा ठूलो हिम तथा हिउँ भण्डार रहेको ‘थर्ड पोल’ अर्थात् ‘तेस्रो ध्रुव’ का रूपमा व्याख्या गर्दै उनले यस क्षेत्रमा ६३ हजार ७ सयभन्दा बढी हिमनदी रहेको बताए ।

हिमनदीबाट निस्कने पानी नदी हुँदै पारिस्थितिक प्रणाली र समुदायलाई पोषण गर्दै समुद्रसम्म पुग्ने उल्लेख गर्दै उनले पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको बताए । हिमनदीको ह्रासले नदीको बहावमा परिवर्तन ल्याउँदै तल्लो तटीय क्षेत्रको जनजीवनमा असर पारिरहेको र द्वीपीय तथा तटीय मुलुकले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर