• २०८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026

कांग्रेस महाधिवेशनः क्षेत्रीयस्तरका अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीयस्तरका अधिवेशन आयोजना गरिएको छ ।

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार शनिबार क्षेत्रीय अधिवेशन भएको हो । उपत्यका अन्तर्गत काठमाडौंमा बर्षाका कारण अधिवेशन स्थगत गरिएपनि ललितपुरमा भने शनिबार नै अधिवेशन आयोजना गरिएको छ ।  असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको कांग्रेस निर्वाचन समिति जनाएको छ । सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् ।

पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ । सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्ने व्यवस्था रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ’क’ र ’ख’ दुवै तर्फका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन हुने व्यवस्था छ ।  

कांग्रेसको अधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने यसअघि नै तय भइसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर